स्थानीय तह चुनावमा गठबन्धन आवश्यक छैन नेता कोइराला तथा महामन्त्री थापा

काठमाडौँ — कांग्रेस नेता शशांक कोइरालाले स्थानीय तहको चुनावमा गठबन्धन आवश्यक नभएको बताएका छन् । पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा कोइरालाले स्थानीय तहको चुनावमा एक्लै लड्न प्रस्ताव राखेका हुन् । उनले संसदीय चुनावमा भने गठबन्धनबारे सोच्न सकिने बताएका छन् ।

‘स्थानीय तहको चुनावमा गठबन्धन नगरौं। एक्लै लडौँ। स्थानीय तहको चुनावमा गठबन्धन गर्न आवश्यक देखिएको छैन। बरु स्थानीय चुनावपछि संसदीय चुनावमा गठबन्धन गर्नेबारे सोचेर छलफल गर्न सकिन्छ,’ उनले भने ।

कांग्रेसमा स्थानीय तहको चुनावमा गठबन्धन गर्ने/नगर्ने विषयमा मतभेद देखिएको छ । सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एक्लै चुनाव लड्दा जित हासिल गर्न कठिन हुने बताउँदै आएका छन् ।

नेता रामचन्द्र पौडेलले पनि एमालेलाई साइजमा ल्याउन पनि गठबन्धन आवश्यक रहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बनाउन नहुने भन्दै उनले गठबन्धन आवश्यक रहेको बताएका हुन् । नेता शेखर कोइराला र महामन्त्री गगन थापाले भने कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन् । नेता कोइरालाले भने गठबन्धन आवश्यक भए तल्ला कमिटीलाई नै निर्णयको अधिकार दिइनुपर्ने बताएका छन् ।

देउवालाई गगनको प्रश्न- नयाँ मतदातालाई हँसिया हथौडा र कलममा भोट दिन लगाउँदा भविष्यमा रुखमा दिन्छन् ?

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने भएकाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका हुन् ।

‘म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिन्न‚’ उनले भने । देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्नका लागि आग्रह गर्दा भविष्यमा उनीहरूले रुखमा भोट हाल्ने ग्यारेन्टी नभएको भन्दै गठबन्धन नगर्न आग्रह गरेका हुन् ।

‘अहिले हसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’ उनले प्रश्न गरे ।

उनले हिजो संविधान र लोकतन्त्रका लागि हतियार उठाएका कम्युनिस्ट पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्याइएको भन्दै अहिले उनीहरूलाई मिल्न नदिँदैमा संविधान र लोकतन्त्र जोगिन्छ भन्ने नभएको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा भने स्थानीय तहको निर्वाचनदेखि नै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेर जाने बताइरहेका छन् ।