गठबन्धन गरे मात्रै जित्ने प्रधानमन्त्री देउवा, माओवादी र समाजवादीलाई मत दिएर एमालेलाई साइजमा ल्याउनुपर्छ नेता पौड्याल

काठमाडौँ — कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरेका छन् । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा गठबन्धनबारे फरक–फरक धारणा आएपछि जवाफमा प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै जना नेताहरू पराजित भएको स्मरण गराए ।

‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ । गठबन्धन नगरेर के गर्ने त ? गठबन्धन गरेर जाने हो भने अहिले हामी सबै सिट जित्छौँ,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पहिले धेरै साथीहरू हार्नुभएकै हो । जित्नका लागि गठबन्धन नगरे अर्को के उपाय छ ?’

नेता शेखर कोइरालाले गठबन्धन गर्न नहुने भन्दै आफ्नो विचार राखेपछि देउवाले प्रतिक्रिया दिएका हुन् ।

बैठकमा सभापति देउवाले द्वन्द्वकालमा माओवादीले सबैलाई दुःख दिएको भए पनि अहिले ती कुरा सम्झिएर नहुनेमा जोड दिए । ‘मलाई पनि माओवादीले पहिले गोली हानेकै हुन् । तर, अब पुराना कुरा सम्झिएर केही हुँदैन,’ उनले भने, ‘त्यसकारण गठबन्धन गरेर जाऔँ । मेरो आइडियोलोजीमा शंका नगर्नुहोस्, म धेरै लडेको मान्छे हुँ ।’

उनले अब आफू पार्टी सभापति विधानतः हुन नमिल्ने भन्दै मिलेर अघि बढ्न आग्रह गरे । ‘साथीहरू, मेरो आइडियोलोजीमा शंका नगर्नुहोस् । म धेरै लडेको मान्छे हुँ, म अब पार्टी सभापति हुने पनि होइन, तपाईंहरु जो–जो हुने हो, मिलेर अघि बढ्नुस् ।’

‘ओलीलाई बलियो बन्न दिन हुन्न, गठबन्धन जरुरी छ’ ।

माओवादी र समाजवादीलाई मत दिएर एमालेलाई साइजमा राख्नुपर्छ : पौडेल

काठमाडौँ — कांग्रेस नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बन्न दिन नहुने बताएका छन् । सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना विचार राख्दै पौडेलले एमालेलाई साइजमा राख्नुपर्ने बताएका हुन् ।

अहिलेको लडाइँ एमालेविरुद्ध भएकाले पनि गठबन्धन जरुरी भएको पौडेलको भनाइ थियो । नेकपा एकीकृत समाजवादी र माओवादीलाई मत दिएर भए पनि एमालेलाई साइजमा राख्नुपर्ने उनको भनाइ छ । पौडेलले बैठकमा भने, ‘ओलीलाई बलियो बन्न दिनुहुन्न । बरु समाजवादी र माओवादीलाई मत दिएर एमाले साइजमा राख्नुपर्छ । लडाइँ एमालेविरुद्ध हो । गठबन्धन जरुरी छ ।’

जारी केन्द्रीय कार्यसमिति बैठकमा आगामी स्थानीय तहको चुनावमा गठबन्धन गर्ने/नगर्ने भन्ने विषयमा बहस भइरहेको छ । नेता शेखर कोइराला, महामन्त्री गगन थापाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताइरहँदा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धन गरे सबै सिट जितिने बताएका छन् ।