वैशाख ११ र १२ गते उम्मेदवारकाे मनोनयन दर्ता, दुई करोड मतपत्र छापिने
काठमाडौं, चैत १० गते । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रक्रिया वैशाख दोस्रो सातादेखि सुरु हुने भएको छ । निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको स्थानीय तह निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । उम्मेदवार मनोनयन दर्ताका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोमिएको छ ।
त्यस्तै १२ गतेनै साँझ ५ बजेदेखि ६ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ । उम्मेदवारीको विरोधमा उजुरी दिन वैशाख १३ गते बिहान १० बजेदेखि ५ बजेसम्म समय तोकिएको छ ।
वैशाख १४ देखि १५ गतेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने, १६ गतेनै उम्मेदवारी अन्तिम नामावली प्रकाशन गर्ने, वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र वैशान ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।
यसैगरी, आयोगले मौन अवधि वैशाख २७ गते राति १२ बजेबाट लागू हुने जनाएको छ । मौन अवधि मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिबाट लागू हुनेछ ।
स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने
त्यस्तै आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र मतदाता छापिने जानकारी दिनुभयो । उहाँले मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्न लागिएको बताउनुभयो ।
सहायक प्रवक्ता अर्यालका अनुसार दुई करोड मतपत्र छाप्नका लागि ११ करोड रुपियाँको कागज किनिसकेको छ । मतपत्र जन शिक्षा सामग्री केन्द्रले छाप्ने छ । निर्वाचनमा एक करोड ७८ लाख मतदान हुने सक्ने अनुमान आयोगले गरेको छ र अन्तिम मतदाता नामवली चैत १३ गते सार्वजनिक हुने उहाँले बताउनुभयो ।
त्यस्तै, निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा देशका विभिन्न १५ स्थानमा कार्यक्रम आचारसंहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ ।
रासस ।