भारतबाट विद्युत खरिद गरिँदै, तत्काल कुनै क्षेत्रमा लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हुन नदिन भारतबाट ३८ रुपियाँ युनिटमा विद्युत खरिद गर्ने भएको छ । बिहीबार राति १२ः१५ बजेदेखि लागू हुने गरी प्राधिकरणले २९ रुपियाँ प्रतियुनिट नोक्सान बेहोरेर भारतबाट विद्युत खरिद गर्न टेण्डर दर्ता गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

युक्रेन र रसियाको द्वन्द्वका कारण कोइला अभाव हुँदा विश्वभर विद्युत उत्पादनमा कमि आएको र यसको असर भारतमा पनि परेकाले विद्युत उत्पादन कमि भएपछि नेपालले विद्युत महँगोमा खरिद गर्न बाध्य हुनुपरेको घिसिङले जानकारी दिनुभयो । नेपालमा जलस्रोतबाट विद्युत उत्पादन गर्ने गरे पनि अन्य देशहरुले भने ७० प्रतिशत कोइलाबाट विद्युत उत्पादन गर्ने गरेका छन् ।

हाल नेपालमा १६५० मेगावाट विद्युत माग रहेको छ । गत वर्ष ८०० मेगावाट विद्युत भारतबाट आयात गर्नुपरेको थियो भने यस वर्ष ३५० मेगावाट मात्र आयात गर्दै आएको जनाएको छ । यो कुल खपतको ३० प्रतिशत हो । तर, विद्युत मूल्य भने महँगो पर्न गए पनि उपभोक्तालाई भने विद्युत नौ रुपियाँ युनिटमै बिक्री गर्ने घिसिङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उत्पादनमा कमी आएपछि २८० मेगावट विद्युत भारतको विहारबाट ल्याउँदै आएको भए पनि मङ्गलबारदेखि विहारले विद्युत दिन छाडेको छ ।

हाल प्राधिकरणले १२ हजार आवर विद्युत भारतबाट आयात गर्दै आएको छ । प्राधिकरणले अझै ढेड महिना भारतबाट विद्युत आयात गर्नुपर्ने जनाएको छ । जेठ अन्तिमदेखि भने नेपालको कुल उत्पादन दुई हजार मेगावाटसम्म पुग्ने भएकाले भारतलाई पाँच सय मेगावाटसम्म विद्युत बिक्री गर्ने लक्ष्य प्राधिकरणले राखेको छ भने, थप आठ सय मेगावाट विद्युत भारतमा निर्यात गर्ने गरी प्रक्रिया समेत अघि बढाइसकेको जनाएको छ । विद्युत महँगो हुँदा प्राधिकरणलाई आठ अरब नोक्सान हुने भएको छ ।

कोइला अभावका कारण पाकिस्तानमा १६ घण्टा, श्रीलङ्कामा सात घण्टा लोडसेडिङको तालिका सार्वजनिक भइसकेको र भारतमा पनि लोडसेडिङको तयारी भएको प्राधिकरणले जनाएको छ । यस हिसाबले हाइड्रोपावरका कारण नेपाल विद्युतमा सुरक्षित देशको रुपमा रहेको पाइएको छ । महङ्गोमा खरिद भएपनि हाल प्राधिकरणले ग्राहकहरुलाई नौ रुपियाँ प्रतियुनिट विद्युत बिक्री गर्दै आएको छ ।

विद्युत महँगो भए पनि प्राधिकरणले लोडसेडिङभन्दा पनि खपत वृद्धि गर्ने गरी बिहीबार नै उद्योगहरुसँग छलफल सुरु गरेको छ ।

तत्काल कुनै क्षेत्रमा लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने बताएका छन्। बिहीबार नेपाल विद्युत् प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या भएकाले मंगलबारदेखि विद्युत् कटौती गरिएको, तर लोडसेडिङ नै हुने अवस्था भने नभएको बताएका हुन्।

उनले पछिल्लो समय भारतमा बिजुलीको मूल्य अत्यधिक मात्रामा अकासिएकाले मंगलबारदेखि प्राधिकरणले विद्युत् आयात नगरेकाले उद्योगमा विद्युत् कटौती गर्नुपरेको बताए। उनले प्राधिकरणले आज बेलुका १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर औद्योगिक क्षेत्रमा बिजुली दिने तयारी गरेको बताए।

प्राधिकरणले प्रतियुनिट नेपाली ३८ रुपैयाँ महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाइ छ। घिसिङले विश्वभर नै विद्युत् अभावको समस्या बढेकाले नेपालमा समेत त्यसको असर परेको हुँदा छोटो समय मात्रै नेपालमा प्रभाव देखिने बताए।

‘अहिलेको विद्युत् अभाव नेपाल मात्रै होइन विश्वमा नै रहेको छ। विश्वमा नै विद्युत् अभाव किन भयो भने भारतमा ७० प्रतिशत कोलवेस जेनेरेसन हो। भारतले आयात गरेको कोलबाट मात्रै नेपालले आयात गर्न पाइन्छ भनेर भारतको नीतिमा रहेको छ। भारतमा इन्पोटेट कोलको धेरै ठूलो सटेज भयो। अहिले अन्तर्राष्ट्रिय रूपमा रुस र युक्रेनबीचको तनावदेखि अन्य धेरै समस्या परेको हुनाले सबै मेटेरियलमा र कोलमा समस्या छ,’ घिसिङले भने।