प्रचण्डविरुद्ध हेडक्वार्टरमा मातृका यादवको उजुरी: के के छन् उजुरीमा?
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट मातृकाप्रसाद यादवले कार्यक्रम बहिस्कारदेखि उजुरीसम्म दिन भ्याएका छन् । मधेस प्रशिक्षण कार्यक्रमलाई बहिस्कार गरेका यादवले अध्यक्ष प्रचण्डले लिएको नीतिदेखि मधेस प्रदेशको सांगठनिक संरचना निर्माणका विषयलाई लिएर बहिस्कारदेखि उजुरीसम्म दिन भ्याएका हुन् ।
‘मैले हेडक्वार्टरमा समसामयिक राजनीतिक विषयदेखि मधेस प्रदेशको समस्या सम्बोधनका लागि भनेर उजुरी दिएको छु’, यादवले भने, ‘त्यो उजुरीको सम्बोधन नभएसम्म मेरो पार्टीलाई आवश्यकता पनि छैन, आवश्यक नै नभएपछि बैठक र प्रशिक्षणमा जाने कुरा पनि हुन्न।’ केन्द्रीय कमिटी बैठकपछि दिएको लिखित उजुरीलाई अध्यक्ष प्रचण्डले अझै सम्बोधन नगरेको र सो सम्बोधनको प्रतिक्षामा आफू रहेको यादवले जानकारी दिए ।
अमेरिकी सहयोग परियाेजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), मधेसको सांगठनिक संरचनादेखि नेतृत्वले लिएको पछिल्ला नीतिप्रति असन्तुष्टि जनाउँदै यादवले माओवादी केन्द्रीय कार्यालयमा लिखित उजुरी दिएका हुन् । सो उजुरी सम्बोधन नभएपछि यादवले जनकपुरमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रम बहिस्कार गरेका थिए ।
मधेस प्रदेशमा पूर्वमाओवादी र जनमोर्चा समूहका बीचमा सत्ता संघर्ष जारी रहेको बखतमा सन्देश दिने गरी यादवले मंगलबार बैठक बहिस्कार गरेका थिए । सहिद रामवृक्ष यादवको सालिक प्रकरण, मधेस प्रदेश सदस्य चयन, पदाधिकारीलगायतका विषयमा यादवले अध्यक्ष प्रचण्डसँग असन्तुष्टि जाहेर गर्दै आएका छन् ।
पूर्वजनमोर्चा समूहका गिरिराजमणि पोखरेल, विश्वनाथ साहलगायतलाई बढी भूमिका दिएको तर जनयुद्धकालीन कार्यकर्तालाई भने किनारा लगाएको भन्दै युद्धकालीन माओवादी कार्यकर्ता असन्तुष्ट रहेका छन् । यही बेला यादवले प्रशिक्षण बहिस्कार गरे। प्रदेश कमिटी निमार्ण गर्न पनि झन्डै एक साता लगाएको माओवादीले मधेस प्रदेशमा नेतृत्व चयन गर्न अझै पनि सकेको छैन ।
‘अध्यक्षसँग मेरा असन्तुष्टि कायमै छन् तर हिजोको कार्यक्रममा उहाँ आउँदा स्वागत र बिदाइ दुवै गर्न गएँ । मात्र प्रशिक्षण कार्यक्रममा उपस्थित नभएको हो’, यादवले भने, ‘अरू जिम्मेवार साथीहरू हुनुहुन्थ्यो, त्यसैले मेरो त्यहाँ आवश्यकता नै थिएन । अनि प्रशिक्षणस्थलमा नबसेको हुँ ।’
यादवका अनुसार आफ्नो उजुरीको माग सम्बोधन नभएसम्म पार्टीको आन्तरिक कार्यक्रम र सांगठनिक निर्माण जस्ता कार्यमा बहिस्कार र अनुपस्थिति दुबै रहिरहनेछ ।