म्यादी प्रहरीमा जागिर खान आवेदन दिनेको भीड

काठमाण्डौ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेसँगै जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिनेको भिड लागेको छ। राजधानीका तीनवटै प्रहरी परिसरमा आवेदन दिनेको लामो लाइन छ ।

काठमाडौं प्रहरी परिसरमा ८ सय जनाले फर्म लगिसकेको परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । आवेदन खुलेसँगै बिहानैदेखि फर्म भर्नेहरू लाइन लागेका हुन् । काठमाडौं परिसरले २ हजार ७ सय ६७ जना म्यादी भर्ना गर्नेछ। तर निर्वाचन आयोगले मतदान केन्द्र तोकिसकेपछि केही संख्या बढ्ने सक्ने एसपी मैनालीले बताए ।

‘अहिले हामीले २ हजार ७ सय ६७ जना कोटा तोकेका छौं। तर निर्वाचन आयोगले मतदान केन्द्र तोकेपछि सुरक्षा मापदण्ड अनुसार संख्या थप हुनसक्छ’, मैनालीले नेपालखबरसँग भने ।

ललितपुर प्रहरी परिसरमा एक सय जनाको आवेदन परिसकेको एसपी सिद्धिविक्रम शाहले बताए । ललितपुर परिसरमा १२ सय ५ जना भर्ना गरिने छ । ‘महिला र पुरुषको कोटा त तोकिएको छैन। तर हामी मिलाएर भर्ना गर्छौं’, एसपी शाहले नेपालखबरसँग भने ।

भक्तपुरमा साढे ७ सय जना भर्ना गरिने छ । अहिलेसम्म २ सय ५० जनाले फर्म लगिसकेको डीएसपी राजु पाण्डेले बताए । २०७४ सालको निर्वाचनमा भक्तपुरमा ७१९ जना म्यादी भर्ना गरिएको थियो ।

देशभर एक लाख म्यादी भर्ना गर्ने सरकारले निर्णय गरेको छ। आवेदन सबै जिल्ला प्रहरी कार्यालयमा दिन सकिनेछ । १८ वर्ष पूरा भएका ५४ वर्षसम्मका नागरिकले म्यादीमा आवेदन दिन सक्नेछन् । यसअघिका म्यादी प्रहरी र भुपू सुरक्षाकर्मीहरुलाई प्राथमिकता पाउने छन्। छनौट भइसकेकालाई एक साता तालिम दिएर खटाउने सरकारको निर्णय छ । म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउने छन् ।

म्यादीका लागि चैत ११ गतेसम्म आवेदन दिन सकिने छ। चैत १५ गतेबाट छनौट सुरु हुनेछ । अन्तिम नतिजा चैत २२ गते प्रकाशन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। छनौट हुनेलाई चैत २८ गतेबाट प्रशिक्षण दिइने छ ।