एआईजी बढुवा सिफारिसविरुद्ध असन्तुष्ट डिआइजीहरुको उजुरी

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ । बढुवाउपरको उजुरी सुन्ने समितिमा आइतबार ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आईजीपी शैलेश थापाको ब्याचका डीआईजीहरुले उजुरी दिएका हुन् । डीआईजी कार्कीले बढुवा सिफारिसविरुद्ध उजुरी दिएको नेपालखबरलाई बताए ।

लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा हुने उजुरी सुनुवाइ समितिमा मुख्य सचिव र कानुन मन्त्रालयका सचिव सदस्य रहन्छन् । समितिले उजुरी प्राप्त भएपछि उजुरी गर्ने म्याद सकिएको भोलिपल्ट बढुवा समितिको राय प्रतिक्रिया र उजुरीसँग सम्बन्धित कागजात पठाउन बढुवा समितिको सचिवालयमा पठाउने छ ।

गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा रहेको एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्याल सदस्य र आईजीपी शैलेश थापा क्षेत्री सदस्य सचिव छन् । समितिले तीन दिनभित्रमा आफ्नो राय प्रतिक्रियासहित उजुरीसँग सम्बन्धित कागजात उजुरी सुन्ने समितिमा पठाउनुपर्नेछ ।

वरीयतामा आफूभन्दा पछाडि रहेका डीआईजीहरुलाई एआईजी बढुवाका लागि सिफारिस गरेको भन्दै उनीहरुले उजुरी गरेका हुन् । एकसाथ डीआईजी भएका १० जनामध्ये सरकारले तेस्रो वरीयताका वसन्तकुमार पन्त, छैटौं वरीयताका धिरजप्रताप सिंह र आठौं वरीयताका रवीन्द्रबहादुर धानुकलाई एआईजी बढुवाका लागि सिफारिस गरेको छ । यीमध्ये पन्त मात्रै आईजीपी थापाका ब्याची हुन् । तर त्यसपछिको ब्याचका सहकुल थापा र विश्वराज पोख्रेल भने यसअघि नै एआईजी भइसकेका छन् ।

सिफारिस भएका डीआईजीहरुलाई बढुवा गर्ने निर्णय मन्त्रिपरिषदबाट भइसकेको छैन। उजुरी परेसँगै अब यसकाे छानबिनपछि मात्रै निर्णय हुनेछ ।