भैरहवाका भुपेन्द्र बने नेपाल आइडल सिजन-४ को विजेता

भैरहवाका भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन-४ को विजेता बनेका छन् । चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले नेपाल आइडल सिजन-४ को विजेता बन्न सफल भएका हुन् । विजेता भएसँगै उनले ३० लाख रुपैँया पाएका छन् । त्यसका साथै ट्रफी र विभिन्न गिफ्ट भौचरहरु पाएका छन् ।

त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन् भने सेकेन्ट रनरअप रामेछापका रञ्जित नेपाली भएका छन् । नाम्गेलले ५ लाख रुपैँया र ट्रफी पाए भने रञ्जितले ३ लाख रुपैँया र ट्रफी पाए । त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल टप तीनमा परेनन्। उनीहरुले गिटार र दस लाख बरारको बीमा पाएका थिए ।

यसैबीच अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्यापटेन रामेश्वर थापाले फिनालेका पाँच जनै प्रतस्पर्धी राष्ट्रका नयाँ प्रतीभाहरु भएको बताए । उनले नयाँ प्रतीभा जन्माउनका लागि रातदिन खटिएका जजहरु, संगीतकर्मीहरु र एपीवान टेलिभिजनका सम्पूर्ण प्राविधिकहरुलाई धन्यवाद दिएका थिए । उनले पाँचौं संस्करणमा पनि देशका कुना काप्चाबाट नयाँ प्रतीभाहरुको खोजी गरिने बताए ।

गत मंसिर २३ गतेदेखि नेपाल आइडलको चौथो संस्करण एपीवान टेलिभिजनमा प्रशारण थालिएको थियो । नेपाल आइडलको पहिलो संस्करणको विजेता बुद्ध लामा रहेका थिए भने दोस्रो सिजनको विजेता रवि वड थिए । तेस्रो सिजनको विजेता भने सज्जा चौलागाईँ रहेकी थिइन् ।

एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायको रुपमा थिए ।