गठबन्धनमा खटपट, गठबन्धन गर्नुहुन्न : गगन थापा
काठमाण्डौ । सत्ता गठबन्धनबीच स्थानीय तहका साथै प्रदेश र संघको चुनावमा पनि तालमेल गर्ने कसरत भइरहेका बेला कांग्रेस र माओवादी केन्द्रका नेताहरूले आपसमा टीकाटिप्पणी गर्ने क्रम बढेको छ । कांग्रेसमा खास गरी शेखर कोइराला समूहका नेताहरूले एक्लै चुनावमा जानुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् भने माओवादी नेताहरूले पनि कांग्रेसमा अहंकार बढेको प्रतिक्रिया दिन थालेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्तिमा स्थानीय चुनावमा तालमेल गर्ने कुरा उति प्राथमिकतामा परेको देखिँदैन । उनले बुधबार माओवादीको उपत्यका, सम्पर्क समन्वय विशेष प्रदेश तथा प्रवास समन्वय समितिको संयुक्त वैचारिक राजनीतिक प्रशिक्षणमा कार्यकर्तालाई एक्लै चुनाव लड्नका लागि तयार रहन निर्देशन दिए । ‘गठबन्धन कायमै रहन सक्छ तर हामी आफ्नो खुट्टामा उभिनुपर्यो । हामी २०६४ को जस्तो माहोलमा फर्किनुपर्यो,’ दाहालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘गठबन्धन गरेर जितिहालिन्छ भन्ने भरमा नपरौं ।’
माओवादी नेता वर्षमान पुनले कांग्रेसका केही नेतामा गठबन्धन भएका पार्टीका नेताहरूलाई हेप्ने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन् । ‘हामीले सडकको कांग्रेसलाई सत्तामा पुर्याएका छौं । सत्तामा पुगेको कांग्रेसका केही नेताले अहंकार देखाइरहेका छन् । उनीहरूमा सत्ताको उन्माद देखिन्छ,’ उनले भने, ‘स्थानीय निर्वाचनमा उनीहरू नराम्ररी पछारिनेवाला छन् ।’ नेता पुनले स्थानीय निर्वाचनमा एमालेसँग तालमेलको ढोका बन्द भइनसकेको उल्लेख गरे । ‘हामी घुँडा टेकेर तालमेल गर्नुपर्यो भन्न कसैलाई जाँदैनौं । हाम्रो आफ्नै शक्ति छ,’ उनले भने, ‘दुवैतिर (गठबन्धन र एमाले) सँग तालमेल हुने ठाउँमा हामी खुला नै छौं ।’ केही समयअघि अध्यक्ष दाहालले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवादको ढोका बन्द नगरेको बताएका थिए ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने राष्ट्रिय स्तरमा माओवादी केन्द्रसँग तालमेल हुने सम्भावना नरहेको बताए । ‘माओवादीमा स्थानीय चुनावलाई लिएर मनोवैज्ञानिक डर छ । त्यसैले माओवादी नेताहरूले एमालेसँग तालमेलको कुरा गरिरहेका हुन सक्छन्,’ उनले भने, ‘राष्ट्रिय स्तरमा चुनावी तालमेल नभए पनि स्थानीय तहमा कहींकतै विशिष्ट स्थिति हेरी समीकरण बन्न सक्छ ।’ ओलीका अभिव्यक्तिले पनि माओवादीसँग तालमेल भइहाल्ने संकेत गर्दैन । एमाले नेता घनश्याम भुसालले कान्तिपुरमा लेखेको ‘कम्युनिस्ट पार्टीको भविष्य ः एकता वा सत्यानाश’ लेखप्रति ओलीले मंगलबार व्यंग्य गर्दै ‘आफ्नो नेतृत्वको सरकार ढालेका पार्टीसँग एकताको कुरा गरेर जिस्केको’ टिप्पणी गरेका थिए ।
कतिपय राजनीतिक विश्लेषक भने एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहाल ‘राजनीतिक स्वार्थ’ का लागि कुनै पनि बेला मिलनको हात बढाउने नेता भएकाले सत्ता गठबन्धनबीच अनुकूल चुनावी तालमेल नसके माओवादीले एमालेसँग ‘सम्झौता’ गर्न सक्ने बताउँछन् ।
निर्वाचनमा कांग्रेसले गठबन्धन गर्नुहुन्न : गगन थापा
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताएका छन् । उनले पार्टीको बनेपा नगरसमितिद्वारा आज आयोजित बृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू निर्वाचनमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताए ।
“पार्टीलाई निर्वाचनमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु नसके पार्टीको निर्णय मान्छु”, पूर्वमन्त्रीसमेत रहेका थापाले भने । निर्वाचनमा अन्य दलसँग गठबन्धनबारे केन्द्रीय बैठकमा गम्भीर छलफल हुने र पार्टीकै निर्णयअनुसार अघि बढ्ने उनले दोहोर्याए । पार्टीभित्र उम्मेदवार छान्दा मन परेन भन्न पाइने तर पार्टीले छानेको उम्मेदवार सबैको सर्वमान्य हुने उनले दाबी गरे ।
उनले भने, “मतदाताले पार्टी बदल्न पाउँछ, तर एउटा पार्टीको भनेर अर्को पार्टीमा मत हाल्नु कदापि हुुँदैन, पाप लाग्छ ।” निर्वाचनमा कांग्रेस एक्लैले जितेर देखाउनुपर्ने उनको तर्क थियो । महामन्त्री थापाले आउँदो पाँच वर्ष कांग्रेसलाई मत दिन जनतालाई अनुरोध गर्न नेताकार्यकर्तालाई आग्रह गरे । “हामीलाई पाँच वर्ष मत दिएर स्थानीय तह र संसदीय निर्वाचनमा जिताउनुस्, हामी यो यो काम गर्छौं भनेर योजनासहित जनताको जानुपर्छ”, उनले भने ।
आफ्नो पार्टीले आउँदो पाँच वर्षका लागि बहुमत ल्याएर व्यवस्था ठिक ढङ्गले सञ्चालन गरी जनताको अवस्थामा सुधार गर्ने, युवालाई कतार र मलेसिया जानबाट रोकेर ‘जनशक्ति बेच्ने’ हैन सामान बेच्ने देश बनाइने उनले ठोकुवा गरे। उनले , “हामीले स्थानीय मात्र हैन, प्रदेश र सङ्घमा पनि बहुमत ल्याउनुपर्छ ।”
सो अवसरमा महामन्त्री थापाले पार्टीको जिल्ला, प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्र तथा स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई सम्मान गरेका थिए भने अन्य दलबाट कांग्रेसमा नवप्रवेशी करिब २०० लाई क्रियाशील सदस्यता प्रदान गरेका थिए । आयोजकले १४औँ महाधिवेशनमा महामन्त्री थापालगायत केन्द्रीय सदस्यमा निर्वाचितलाई सम्मान गरेको थियो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्यत्रय मधुप्रसाद आचार्य, उर्मिला केसी र गणेश लामा, बागमती प्रदेश सभापति इन्द्र बानियाँ, प्रदेश महामन्त्रीद्वय कञ्चनचन्द्र वादे र राजु श्रेष्ठ, जिल्ला सभापति तीर्थ लामा, सचिव माधव ढकाल, प्रतिनिधिसभा क्षेत्रीय सभापतिद्वय महेश खरेल र दिनेश लामा, प्रदेशसभा क्षेत्रीय सभापति रामहरि श्रेष्ठलगायतले नवप्रवेशीलाई बधाई एवं शुभकामना ज्ञापन गर्दै पार्टीको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’मा दत्तचित्त भएर लाग्न आग्रह गरेका थिए ।