एमसिसी कार्यन्वयन फेल भयो भने राजीनामा दिन्छु, एमालेसँग सहकार्य हुँदैन : प्रचन्ड

काठमान्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीबारे थप छलफल पार्टीले स्थानीय तहको निर्वाचनपछि मात्रै गर्ने बताएका छन् । एमसिसी माओवादीको पनि समर्थनमा प्रतिनिधि सभाबाट अनुमोदन भइसकेको छ तर माओवादीभित्र केही नेताहरूले यसको विरोध भने जारी नै राखेका छन् । प्रचण्डले एमसिसीबारे अब स्थानीय चुनावपछि मात्रै छलफल चलाइने बताए ।

आज प्रदेश नम्बर १ को पार्टी प्रशिक्षणका लागि विराटनगर पुगेका प्रचण्डले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै भने, ‘स्थानीय चुनावपछि एमसिसीबारे फेरि छलफल गर्छौं ।’ त्यसबेला एमसिसीबारे छलफल गर्दा पार्टीबाट फेल भयो भने के गर्ने भन्ने पत्रकारको अर्को प्रश्नको जवाफमा प्रचण्डले फेल भए पार्टीबाट राजीनामा दिने बताए । ‘फेल भयो भने राजीनामा दिन्छु, ढुक्क हुनुस्,’ उनले भने ।

आठौं राष्ट्रिय सम्मेलनबाट प्रचण्ड पार्टी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । साथै व्याख्यात्मक घोषणासहित माओवादीलगायत दल एमसिसी अनुमोदन गर्न तयार भएका थिए। एमसिसीले यसबीचमा केही तरंग पनि ल्याएको उनले बताए ।

‘व्याख्यात्मक घोषणासहित सम्झौताकै अंगका रूपमा प्रतिनिधि सभाले पारित गरेपछि अहिलेलाई यो समस्याको समाधान निस्केको छ । यदी यो व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा कतै मिनिमाइज गरियो भने फेरि त्यो विषय आन्दोलनको विषय हुन सक्छ,’ उनले भने, ‘यद्यपी हाम्रो पार्टीभित्र एमसिसीबारे एकै मत छैन । चुनावसम्म यो विषयलाई एउटा अपिलमार्फत् एउटै भाषा बनाउने र निर्वाचनपछि फेरि छलफल चलाउने भन्ने छ ।’

एमालेसँग सहकार्य हुने सम्भावना छैन: प्रचण्ड

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्य नहुने बताएका छन् । तर अरू वामपन्थी शक्तिहरूसँग भने सहकार्य जारी राखिने उनले बताए ।

‘केपी ओली नेतृत्वको एमाले गुटसँग तत्काल सहमति, सहकार्य हुने कुनै सम्भावना छैन,’ आज पार्टीको प्रदेश नम्बर १ को भेला तथा प्रशिक्षणमा पुगेका प्रचण्डले भने, ‘कांग्रेससँग कति होला कति नहोला त्यो आफ्नो ठाउँमा छ । मुद्दा मिल्नेहरूसँग मिलेर जाने नभए आफ्नै खुट्टामा उभिएर चुनावमा जाने हो ।’ उनले गठबन्धन गर्न परे चुनावका बेला सत्तारूढ गठबन्धनसँगै गरिने बताए ।

‘सकेसम्म आफ्नै खुट्टामा उभिएर चुनावमा जान्छौं,’ उनले भने, ‘कहीँकतै तालमेल हुन सक्छ, तालमेल हुने भयो भने सत्तारूढ गठबन्धनसँगै हुनेछ।’ उनले जनताको मन जितेर चुनाव जित्ने सबै पार्टीको प्राथमिकता हुने बताए । ‘गठबन्धन पहिलो कुरा होइन, प्रत्येक पार्टीले जनताको मन जित्ने र चुनाव जित्नै नै प्राथमिकतामा छ,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिने हो, संगठन बलियो बनाउने हो ।’

उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई संसद अवरोध नगर्न आग्रह गरेका थिए । ‘एमालेले संसद अवरोध गर्ने र आफूले विघटन गरेको जायज थियो भन्ने देखाउन खोज्दैछ,’ उनले भने । पार्टी स्थानीय तह चुनावका लागि दुई महिने अभियानमा होमिएको प्रचण्डको भनाइ थियो ।