एमाले अध्यक्ष ओली बारा आउँदै, वीरगन्जका मेयर सरावगीलाई पनि भेट्ने

वीरगन्ज : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बारा आउँदै छन्। बाराको आदर्श कोतवाल गाँउपालिकाको च्युटाहामा हुने एमालेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली बारा आउन लागेका हुन्।

कार्यक्रममा ओलीले आदर्श कोतवाल गाँउपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीसहितका जनप्रतिनिधीहरुलाई पार्टीमा प्रवेश गराएर स्वागत गर्नेछन्। आदर्श कोतवाल गाँउपालिकाका अध्यक्ष अन्सारी , तत्कालीन संघीय समाजवादी फोरम र अहिलेको जनता समाजवादी पार्टीकोतर्फबाट स्थानीय तहको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए। एमाले अध्यक्ष ओली दिउसो १ बजे च्युटाहा आइपुग्ने नेकपा एमाले बाराका अध्यक्ष विनोद साहले जानकारी दिए ।

मेयर सरावगीलाई एमालेमा भित्रयाउन वीरगन्ज पनि आउने

शनिबार बारा जानुअघि एमाले अध्यक्ष ओली वीरगन्ज पनि आउने कार्यक्रम छ। काठमाण्डौबाट हेलिकप्टरबाट सिधै वीरगन्जमा आइपुग्ने अध्यक्ष ओलीले एमालेका नेता कार्यकर्तासँग भेटघाट र वीरगञ्ज महानगरपालिकाका नगरप्रुमख विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउने विषयमा छलफल गर्ने कार्यक्रम छ।

वीरगन्ज महानगरका नगरप्रमुख सरावगीले पनि एमाले अध्यक्ष ओलीसंग शनिबार वीरगन्जमा आफ्नो भेटघाट हुने बताए। बारा जानु भन्दा पहिले ओली वीरगन्ज आउने कार्यक्रम छ, सरावगीले भने,‘ओली जीसंग मेरोपनि भेटघाट हुन्छ, भेटमा म एमाले प्रवेश गर्ने विषयको टुङगो लाग्नेछ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रहेका सरावगी, तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरको नगर प्रमुखमा निर्वाचित भएका थिए। जसपा भित्रैबाट आफूलाई असहयोग भइरहेको र पार्टीमा बस्न सक्ने वातावरण नभएको भन्दै आएका सरावगीले एमाले प्रवेश गरेर आगामी स्थानीय तहको निर्वाचनमा एमालेकै तर्फबाट नगरप्रमुखमा फेरि चुनाव लड्ने चर्चा छ।

सरावगीले भने,‘जसपामा छोड्छु भनेर मैले १०\१२ दिन पहिले नै पार्टीका नेताहरुलाइ भनिसकेको छ, मेरो पहिलो रोजाइ काँग्रेस थियो तर अब काँग्रेसमा जाने कुरा छैन, एमालेमा जाने कुरा छ त्यसको टुङगो शनिबार ओली जीसंगको भेटमा लाग्छ।