संखुवासभा बस दुर्घटनामा मृतकको संख्या १४ पुग्यो, उद्धारका लागि हेलिकोप्टर पठाइँदै
रासस ।
सङ्खुवासभा, फागुन २६ गते । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
बिहीबार बिहान ७ः३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । मृतकको पहिचान भइसकेको छैन । बस दुर्घटनामा परेका पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, दुर्घटनामा घाइते भएकाको उद्धारका लागि हेलिकोप्टर पठाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि उद्धारका लागि होलिकोप्टर पठाइने भएको हो ।
उहाँले गृहसचिव टेकनारायण पाण्डे र सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाको हेलिकोप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिनुभएको छ । “मन्त्रीबाट घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन भएको छ, हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भन्नुभयो ।
घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर लगिएको छ । चैनपुरबाट हेलिकोप्टरमा धरान पु¥याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिनुभयो । घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ । गाडी सडकबाट ३०० मिटर तल खसेको प्रजिअ खतिवडाले जानकारी दिनुभयो । यात्रुहरू कति थिए भन्ने यकिन नभएकाले खोजीकार्य भने जारी नै छ ।