
एमसीसी अनुमोदन गर्न सहयोग गर्नुभएकोमा धन्यवाद दिँदै कार्यान्वयनमा ध्यान दिऔं : प्रधानमन्त्री देउवा
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग (एमसीसी)सँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनको प्रक्रियामा सहयोगी सबैलाई धन्यवाद प्रकट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनमा सहयोग पुर्याउने सबै राजनीतिक दल र नेताहरूलाई धन्यवाद व्यक्त गरेका हुन् ।
‘हामी सबै एक ठाउँमा उभिएर एमसीसी अनुमोदन गरेका छौँ । अनुमोदनको प्रक्रियामा जसरी हामी सबै एक ठाउँमा उभिएका छौँ, अब यसको कार्यान्वयनमा समेत हामी सबै एक ठाउँमा उभिनुपर्नेछ,’ बैठकमा प्रधानमन्त्री देउवाले भनेका थिए ।
बैठकमा एमसीसी अनुमोदनका क्रममा गठबन्धनमा उत्पन्न खटपटको समीक्षा तथा समसामयिक राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीका विषयमा छलफल भएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा भएको बताए ।
‘अहिलेको समसामयिक राजनीतिका बारेमा छलफल भयो,’ मन्त्री कार्कीले इकान्तिपुरसँग भने, ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गरिरहेको छ । त्यसकारण संसद्ले गर्नुपर्ने अत्यावश्यक कामहरू हुन पाएका छैनन् । महत्त्वपूर्ण विधेयकहरू पारित गर्नुपर्ने आवश्यक छ । तर, त्यसको प्रक्रिया अघि बढाउन सकिएको छैन । त्यसैले बैठकले प्रमुख प्रतिपक्षी दलसँग संसद्मा जारी अवरोध हटाउन आह्वान गरेको छ ।’
सत्ता गठबन्धनमा लामो छलफल र रस्साकस्सीपछि आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो ।
बिहीबारको बैठकमा प्रधानमन्त्री देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित उच्चस्तरीय राजनीतिक समन्वय समितिमा संलग्न नेताहरू सहभागी थिए ।
सत्ता गठबन्धन बैठक : दलमा छलफल गरेर चुनावी तालमेलबारे निर्णय लिने
त्यस्तै सत्तारूढ गठबन्धनले आगामी स्थानीय तहको चुनावमा तालमेलको लागि आ–आफ्नो दलभित्र छलफल गरेर मात्रै निर्णय लिने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको चार दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका शीर्ष नेताहरुबीच भएको छलफलले यस्तो निर्णय गरेको कांग्रेस नेता तथा सत्ता गठबन्धन राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ । पौडेल बैठकमा सहभागी थिए ।
चुनावी तालमेलबारे पहिला आ–आफ्नो दलमा छलफल गरेर सत्ता गठबन्धनको बैठकबाट निर्णय लिने गरी आजको बैठक सकिएको छ । आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेलाई संसद अवरोध नगर्न आग्रह गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की , कांग्रेस नेता पौडेल , माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।



