संयुक्त राष्ट्रसंघमा नेपालसहित १४१ देशद्वारा यूक्रेन हमलाको निन्द, भारत भने तठस्थ

संयुक्त राष्ट्रसंघको आपत्कालीन महासभामा नेपालले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गर्दा दुई छिमेकी मुलुकहरू भारत र चीन भने मतदानमा सहभागी भएनन् ।

न्यूयोेर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधबार राती भएको मतदानमा नेपालले प्रस्तावको पक्षमा मतदान गरेको हो । उक्त प्रस्तावमा नेपाल र अमेरिकासहित विश्वभरका १४१ मुलुकहरूले पक्षमा मतदान गरेका हुन् । उनीहरूले रुसले युक्रेनमाथि गरिरहेको सैन्य कारबाही र बल प्रयोगविरुद्धको प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

यूएनमा १९३ सदस्य मुलुकहरू छन् । संयुक्त राष्ट्रसंघका अनुसार भारत र चीनसहित ३५ मुलुकहरूले प्रस्तावको पक्ष र विपक्ष दुवैमा भोट गरेनन् । उक्त प्रस्तावमा ‘राष्ट्रसंघको बडापत्रको धारा २ (४) को उल्लंघन गर्दै युक्रेनविरुद्ध रुसी संघले गरेको आक्रमणको कडा शब्दमा निन्दा गर्दछ’ भन्ने उल्लेख छ ।

प्रस्तावमा ‘रूसी महासंघले युक्रेनविरुद्धको बल प्रयोग तुरुन्तै बन्द गर्न र कुनै पनि सदस्य राष्ट्रविरुद्ध कुनै पनि गैरकानुनी धम्की वा बल प्रयोग नगर्न’ माग गरेको छ ।

राष्ट्रसंघले गत आइतबार युक्रेनमा रुसको सैन्य कारबाहीका लागि १९३ सदस्यीय संयुक्त राष्ट्र महासभाको ‘दुर्लभ आपत्कालीन विशेष’ सत्र बोलाउन मतदान गरेको थियो । उक्त अवसरमा पनि नेपालले पक्षमा मतदान गरेको थियो । भारत र चीनले भने त्यस बेला पनि भोट हालेका थिएनन् ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतकुमार राईले न्यूयोर्कमा आफ्नो कुरा राख्दै नेपालले कुनै पनि सार्वभौमसत्ता सम्पन्न देशको भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताविरुद्धको कुनै पनि धम्की वा बल प्रयोगको विरोध गरेको बताएका थिए ।

उनले मंगलबार मंगलबार राती रुस र युक्रेनलाई शान्तिको मौका दिन पुनः वार्ता सुरु गर्न आह्वानसमेत गरेका थिए । राईले शान्तिको बाटोमा फर्कन कहिल्यै ढिलो नहुने उल्लेख गर्दै वार्ताका लागि आह्वान गरेका हुन् । यस्तै, परराष्ट्र मन्त्रालयले फागुन १२ मा विज्ञप्ति निकाल्दै रुसी कदमको विरोध गरेको थियो । नेपालले द्वन्द्व रोकिनुपर्ने र कूटनीतिक वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने बताएको थियो ।

युक्रेन मामिलामा भारत फेरि तटस्थ

युक्रेनविरुद्ध रुसी हमलाको निन्दा गर्ने राष्ट्रसंघको महासभाको प्रस्तावमा भारत फेरि तटस्थ बसेको छ । मस्को र किभबीचको बढ्दो तनाबमाथि राष्ट्रसंघको महासभाको प्रस्तावमा एक सातामा भारत तेस्रो पटक तटस्थ बसेको हो । वाशिंगटनका वरिष्ठ अधिकारीहरूले भारतलाई ‘स्पष्ट अडान लिन’आह्वान गरेका थिए ।

मस्को र पश्चिमसँगको सम्बन्धलाई सन्तुलनमा राख्न खोज्दा भारत युक्रेन मामिलामा एउटा कूटनीतिक कसिलो डोरोबाट हिँडिरहेको देखिन्छ । तर, उसको रणनीतिले विशेषतः पश्चिमा देशमा प्रश्न खडा गरेको छ । विश्वकै ठूलो प्रजातान्त्रिक देश भारतले प्रष्ट अडान लिनु पर्ने पश्चिमा देशहरुले आवाज उठाउँदै आएका छन् ।