एमसीसी अनुमोदनपछि धमाधम राजनीतिक दलले प्रस्टीकरण दिँदै

काठमाडौँ- लामो समयदेखि आन्तरिक बिबादमा फसेको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राजनीतिक दलका प्रस्टीकरण आउने क्रम जारी छ । नेपाली राजनीतिमा सबैभन्दा बढी विवादमा परेकामध्येको एक एमसीसीका बारेमा राष्ट्रिय रूपमा तल्लो तहसम्म जनमानस धुव्रीकृत भएपछि राजनीतिक दलले प्रस्टीकरणको क्रमलाई तीव्रता दिएका हुन् ।

गत १५ फागुनमा प्रतिनिधिसभा बैठकबाट ‘व्याख्यात्मक घोषणा’सहित बहुमतले एमसीसी पारित भएको भोलिपल्ट अर्थात सोमबार सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलनमार्फत नै अनुमोदन गराउनुपर्ने कारणका बारेमा प्रस्टीकरण दिइसकेका छन् ।

बिगतमा ‘सुरक्षा रणनीति’ अन्तर्गत रहेको भन्दै संसोधन र परिमार्जन बिना अनुमोदन हुन नसक्ने अडान राख्दै आएको माओवादी केन्द्रले सोमबारबाट एमसीसी ‘आर्थिक सहायता परियोजना’ मात्रै भएको प्रस्टीकरण दिइसकेको छ । एमसीसी सम्झौतालाई जस्ताकोतस्तै अनुमोदन गरेमा फरक नपर्ने भन्ने कांग्रेसले पनि बहुमतले अनुमोदन गर्न सहयोग गरेको भन्दै धन्यवाद दिएको छ, भने सोमबार नै बसेको कांग्रेस नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले ‘भ्रम चिर्दै’ एमसीसी पारित गराउन सहयोग गरेको भन्दै औपचारिक रुपमा नै आभार प्रकट गरेको छ ।

कांग्रेस र माओवादी केन्द्रले प्रस्टीकरण दिएको भोलिपल्ट एमसीसी अनुमोदन प्रक्रियामा सामेल नै नभएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत प्रस्टीकरण दिँदैछ ।

अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा ओलीले एमसीसी अनुमोदनका लागि आफू नेतृत्वको सरकारले संघीय संसद सचिवालयमा किन दर्ता गरायो, अनुमोदन प्रक्रियामा किन सामेल भएन ? भन्नेसम्मका प्रस्टीकरण दिने अपेक्षा राजनीतिक बृतले गरेको छ ।

नेकपा एमालेसँग विभाजित नेकपा (एस)ले पनि आजै अपरान्ह २ बजे पत्रकार सम्मेलनमार्फत एमसीसी अनुमोदन गर्नुपर्ने अवस्थाका बारेमा प्रस्टीकरण दिनेछ ।

अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूको उपस्थितिमा आयोजना हुने उक्त पत्रकार सम्मेलनमा ७ फागुनको स्थायी कमिटीको बैठकको निर्णयवाट किन पछाडि हटनु परेको थियो ? जस्ता विषयमा प्रस्टीकरण दिने बुझिएको छ ।

ओलीले एमसीसीबारे धारणा राख्न पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गरेर पार्टीको धारणा सार्वजनिक गर्ने भएका हुन् ।

आज दिउँसो १ बजे तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलन हुने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसअघि, उनले जर्मन हाउस, भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गरिने बताएका थिए । पछि स्थान परिवर्तन गरिएको जानकारी दिए ।

माओवादी केन्द्र र नेपाली कांग्रेसले एमसीसी संसदबाट पास भएपछि सोमबार आ–आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

माधव नेपालले एमसीसीबारे पार्टीको धारणा राख्न आज पत्रकार सम्मेलन गर्दै

नेकपा एकीकृत समाजवादी पार्टीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर अध्यक्ष माधव नेपालले एमसीसी, स्थानीय निकायको निर्वाचनलगायत विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अर्पण व्याङ्केट, थापागाउँ बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ। एमसीसी संसदबाट अनुमोदन भएसँगै एकीकृत समाजवादीका कार्यकर्ताले चर्को आलोचना गर्दै आएका छन् । पार्टीका सम्मानित नेता झलनाथ खनालले संसदबाट अनुमोदन हुन नहुने धारणा राख्दै आएका थिए। तर पार्टीले निर्णय गरेर नै एमसीसीमा एकीकृत समाजवादीले पक्षमा रहने निर्णय गरेको थियो । यसको कार्यकर्ताले विरोध गर्दै आएका छन् ।

एमसीसी पारित भएपछि कांग्रेस र माओवादीले हिजो नै आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् ।