टी-२० वरीयतामा नेपालको सुधार

काठमाडौं । आईसीसी पुरुष टी-२० वरीयतामा नेपालको दुई स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान सुधार गर्दै १३ औं स्थानमा उक्लिएको छ । यसअघि सार्वजनिक वरीयतामा नेपाल दुई स्थानमा तल झर्दै १५औं स्थानमा पुगेको थियो ।

ओमानमा सम्पन्न आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा गत मंगलबार यूएईसँग ६८ रनले पराजित भएसँगै नेपालले तेश्रो स्थानमा रहेर छनौट टुङ्गयो थियो । ओमान भ्रमणमा जानुअघि नेपाल १२ औं स्थानमा रहेको थियो । ओमान भ्रमणको क्रममा चारदेशीय टी-२० सिरिज खेलको नेपालले एकमा जित तथा दुईमा हार बेहोरेको थियो।

यस्तै विश्वकप छनोटमा तीन खेलमा लगातार जित निकाले पनि निर्णायक खेलमा पराजित भएपछि नेपालले अन्तिम खेलमा घरेलु टोली ओमानलाई हराउँदै तेश्रो स्थानमा रहँदै छनौट सकाएको हो । नेपाली टोली शुक्रबार स्वदेश फर्किसकेको छ ।

वरीयतामा भारत शिर्ष स्थानमा यथावत् रहँदा उक्लिदा इंग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ । पाकिस्तान तेस्रो स्थानमा रहँदा न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा यथावत् छ । युएई र आयरल्यान्ड विश्वकपमा छनोट भएका छन् ।