रुसले यूक्रेनमा क्षेप्यास्त्र प्रहार, अमेरिकी राष्ट्रपति बाइडेनको बिरोध

काठमाडौँ — रुसले लगातार आक्रमण गर्न थालेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा सैन्य कानुन लागू गरेका छन् । रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको बताउँदै राष्ट्रपति जेलेन्स्कीले सैन्य कानुन लागू गरेको घोषणा गरेका हुन् । रुसले युक्रेनका केही स्थानमा क्षेप्यास्त्र प्रहार गर्नुका साथै युक्रेनको साउथ कोस्ट आफ्ना सेना युक्रेनमा प्रवेश गराएको युक्रेनका सरकारी अधिकृत र सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही गर्ने बताएको केहीछिनमै युक्रेनको राजधानी किभमा विस्फोटको आवाज सुनिएको थियो । किभको प्रमुख विमानस्थल नजिकै गोलाबारीको आवाज सुनिएको इन्टरफ्याक्स न्यूज एजेन्सीले उल्लेख गरेको छ ।

युक्रेनका केही शान्तिपूर्ण सहरहरूमा हमला गरेको युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले ट्विटरमा लेखेका छन् ।

रुसी कारबाही अकारण र अनुचित : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा बिहीबार युक्रेनमा विशेष सैन्य कारबाहीको घोषणापछि प्रतिक्रिया दिँदै यो अकारण र अनुचित रहेको बताएका छन् । राष्ट्रपति पुटिनको घोषणाको जवाफ दिँदै राष्ट्रपति बाइडेनले ‘सारा संसार युक्रेनका नागरिकको पक्षमा रहेको’ बताएका हुन् ।

सम्बोधनमा उनले यस मामलामा पुटिन दोषी रहेको भन्दै ‘राष्ट्रपति पुटिनले पहिले नै युद्ध रोजेको र त्यहाँका नागरिकहरूको ज्यान धरापमा परेको’ बताएका छन् । यसबाट त्यहाँ त्रासपूर्ण वातावरण बन्ने बताएका छन् । उनले भनेका छन्, ‘यो युद्धबाट हुने मरण र विनासको लागि रुस मात्र एक्लै जिम्मेवार रहनेछ ।’ बाइडेनले यस मामलामा अमेरिका र सहयोगी देशहरु एकजुट भएर निर्णायक तरिकाले जवाफ दिने समेत बताएका छन् । आजै मात्र जी–७ सदस्य राष्ट्रहरूसँग बैठक गर्ने र त्यसपछि मात्रै रुसमाथि कदम उठाउने बताएको बीबीसी हिन्दीले जनाएको छ ।

युक्रेनको डोनबास क्षेत्रमा विशेष सैन्य कारबाहीको घोषणा गरेको केही घण्टापछि युक्रेनको सीमाभित्र रुसी सैनिक प्रवेश गरेका छन् । रुसी सैनिकहरू युक्रेनको खारकिभ क्षेत्रतर्फ अघि बढेको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।

युक्रेनका विदेशमन्त्रीले रुसले युक्रेनमा हमला गर्न सुरु गरिसकेको दाबी गर्दै यसमा युक्रेन रक्षात्मक रुपमा उभिने बताए । युक्रेनको राजधानी किभमा केही समयअघि विस्फोटको आवाज सुनिएको बीबीसीले उल्लेख गरेको छ । किभमा विस्फोटको आवाज सुनिएपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शान्ति स्थापनाका लागि आह्वान गरेको छ ।

यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युक्रेनमा हमला गर्ने कुनै योजना नभएको बताउँदै आएका छन् ।