एमसीसी जबर्जस्ती अगाडि बढायो कृष्ण बहादुर महरा, सरकारबाट बहिरिन्न मेटमणी चौधरी
काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसी सरकारले जबर्जस्ती अगाडि बढाउन खोजेको आरोप लगाएको छ । गठबन्धनको बैठकमा संसदमा एमसीसी अनुमोदन नगर्न स्पष्ट रुपमा भनेको र कार्यव्यवस्था परामर्श समितिमा पनि लिखित असहमति जनाएको भएपनि सरकारले जबर्जस्ती गरेकाे माओवादीकाे आरोप छ ।
विवाद र विरोधकाबीच एमसीसी संसदमा पेस भएको घटनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि माओवादीले जनाएको छ । देशको स्वाधिनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रि सहमति नगरी एमसीसी संसदमा पेश भएको घटनाप्रति माओवादीले आपत्ति जनाएको छ ।
माओवादी प्रवक्ता कृष्णबहादुर महराले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘देशको स्वाधिनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विष्यामा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबर्जस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति हाम्रँे गम्भीर आपत्ति छ ।’
एमसीसीलाई समर्थन गर्दैनौं, सरकारबाट बाहिरिँदैनौं : सांसद चौधरी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले यथास्थितिमा अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्न नसकिने बताएका छन् । सोमबार रिपोर्टस क्लबमा आयोजित सात्क्षात्कार कार्यक्रममा चौधरीले सरकारबाट पनि नबाहिरिने बताए ।
‘यही अवस्थामा हामी एमसीसी पास गर्दैनौं,’ चौधरीले भने, ‘हामी सरकारबाट पनि बाहिरिदैनौं । सरकारलाई दिएको समर्थन यथावत रहन्छ, सरकारमै रहन्छौं ।’
चौधरीले एमसीसीलाई मतदानमा लैजाँदा कुनै पनि दलले सांसदलाई ह्वीप लगाउन नहुने बताए । ‘यस्तो विषयमा सांसदलाई स्वतन्त्र छाडिदिनुपर्छ,’ उनको भनाइ छ, ‘दलको ह्वीप लगाउनै पर्छ, मान्नै पर्छ भन्ने कुरा गलत हो । सांसदलाई स्वविवेक प्रयोग गर्न दिनुपर्छ ।’