अमेरिकाकाे धम्कीपूर्ण कूटनीति’को चीन विरोध गर्छ’ चीन
चीनले नेपालमा एमसीसी सम्झौता पारित गर्न अमेरिकाले ‘जबरदस्ती कूटनीति’ गरेको भन्दै विरोध जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न आग्रह गरेको समाचारमा टिप्पणी गर्दै चीनले जबरदस्ती कूटनीतिक विरोध गरेको बताएका छन् ।
शुक्रबार चीनको परराष्ट्र मन्त्रालयले बेइजिङमा पत्रकार सम्मेलनमा प्रवक्ता वेनविनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा कुटनीतिक दबाब सुरु गरेको भन्दै नेपालको छिमेकी देश र विकास साझेदार देश भएको नाताले नेपाली नागरिकले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताएका हुन् । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले दबाब दिएको भन्ने कुरा यस अघिनै खण्डन गरिसकेका छन् ।
उक्त पत्रकार सम्मेलनमा एमसीसीमार्फत अमेरिकाले कुटनीतिक दबाब दिइरहेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने बताएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि प्रवक्ता वेनविनले बताएको उक्त खबरमा उल्लेख छ ।
एमसीसी अनुमोदन नभए चिनियाँ हस्तक्षेपका कारण आफ्नो अनुदान सहयोग नलिएको बुझ्ने अमेरिकी चेतावनीलाई चीनले ‘बलजफ्ती कूटनीति’ भनेको छ भने प्रवक्ता वेनबिङले आफूहरू ‘बलजफ्ती कूटनीति’को विपक्षमा रहेको बताएका छन् । चीनले नेपाललाई सहयोग गर्न, नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिन अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गर्छ, तर यो राजनीतिक परिस्थितिविना नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ, वाङको भनाइ छ ।