म दुःखी छैन, दलहरूले संवैधानिक प्रक्रिया सुरु गरेहुन्छ : जबराको टिप्पणी

काठमाडौं : राष्ट्रिय झन्डा हल्लाउँदै सर्वोच्च अदालत पुग्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नैविरुद्ध नारावाजी सुने। संसद्मा महाभियोग प्रस्ताव दर्तापछि पनि आइतबार दिनभरि बसे। महाभियोगको पत्र बुझे। झन्डा छोपिएको गाडी चढेर फर्किए। नेपालको न्यायिक इतिहासमा विरलै देखिने दृश्य आइतबार सर्वोच्च अदालतमा देखियो। कानुन व्यवसायीले सर्वोच्च परिसरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै गर्दा संसद्मा महाअभियोगको प्रस्ताव दर्ता हुँदै थियो। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार, संसद् सचिवालयबाट महाभियोग प्रस्तावबारे जानकारी लिएर जबरा बाहिरिएका थिए।

प्रधानन्यायाधीश जबरा बाहिरिएपछि दीपककुमार कार्की स्वतः कायममुकायम भएका छन्। नेपालको संविधानको धारा १०१ को धारा (६) उपधारा (२) बमोजिम महाभियोगको कारबाही सुरु भएपछि कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने व्यवस्था छ। सर्वोच्चका प्रवक्ता दाहालका अनुसार, प्रधानन्यायाधीश जबराले संसद्ले आफ्नो अधिकार प्रयोग गरेकोमा आफू दुःखी नभएको बताएका थिए। प्रधानन्यायाधीश जबराको भनाइ उदृत गर्दै उनले भने, ‘संसदले आफ्नो अधिकारको प्रयोग गरेको छ। त्यसमा म दुःखी छैन। प्रक्रियाबाट मेरो विरुद्धको महाभियोग प्रस्ताव पारित भएमा सेवाबाट अलग हुने निश्चित छ। संविधानभन्दा दायाँबायाँ म केही पनि सोंच्न सक्दिनँ ।’

संसद्‌ सचिवालयमा महाभियोग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्‍याएर आफूलाई हटाउन भनेका छन् । सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेसँगै झन्डावाल गाडी सर्वोच्चमै छाडेर निवास फर्किएका उनले निकटस्थसँग कुरा गर्दै भने, ‘दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्‍याउन् ।’

संसद्‌बाट महाभियोग पारित गर्न दुई तिहाइ चाहिने भए पनि सत्ता गठबन्धनसँग त्यो सिट छैन । प्रमुख प्रतिपक्षी एमालेबिना महाभियोग पारित हुँदैन । एमालेको आइतबारको सचिवालय बैठकले महाभियोग प्रस्तावविरुद्ध प्रतिवाद गर्ने प्रारम्भिक टिप्पणी गरेको थियो । एमाले संसदीय दलको बैठक आज बस्दैछ ।