भुपु गोर्खा सैनिक कृष्ण बहादुर गुरुङले ९६ वर्षमा नागरिकता

आश गुरुङ, कान्तिपुर

आफ्ना बुबाको नाममा रहेको जग्गा नामसारी गरेर छोरालाई दिनुपर्ने भएपछि मात्र नागरिकता बनाउन प्रशासन कार्यालय पुगे कृष्णबहादुर

लमजुङ — खैरो रङमा सेतो धर्सा भएको गलबन्दी, ज्याकेट र ढाका टोपी लगाएका वृद्ध लट्ठी टेक्दै जिल्ला प्रशासन कार्यालयभित्र छिरे । होचो कद, चिम्सा आँखा र गहुँगोरो वर्णका उनी बेलाबेला ख्वाकख्वाक खोकिरहेका थिए । प्रतीक्षालयमा बसेका धेरैको नजर उनीतिरै थियो । एक युवकले डोर्‍याउँदै उनलाई नागरिकता फाँट छिराए ।

जन्म प्रमाणितसहित वडा कार्यालयले दिएको सिफारिसपत्र फाँटमा पेस भयो । ९६ वर्षको उमेरमा नागरिकता लिन आएको भनेपछि उनले यसअघि नागरिकता लिए/नलिएको रेकर्ड खोजे पनि भेटिएन । फाँटबाट प्रशासकीय अधिकृत जगदीश मिश्र हुँदै कागजात प्रमुख जिल्ला अधिकारी सुशील वैद्यकहाँ पुग्यो । बुढ्यौली उमेर, पेन्सन सर्टिफिकेटसहितको कागजपत्र, वडाको सिफारिस, पत्नी र छोराको नागरिकताका आधारमा प्रशासनले उनलाई नागरिकता दिने निर्णय लियो । आफ्नै बुबाको नागरिकता बनाउन ४१ वर्षीय कान्छो छोराले सनाखत गरे । यद्यपि प्रशासनले नागरिकता नबनाएकाको सरजमिन गरी पठाउन प्रहरीलाई पत्र लेख्यो । यसरी केहीबेरमै नागरिकता हात पर्दा ९६ वर्षीय वृद्ध खुसी देखिए ।

विश्वयुद्ध सकिएलगत्तै सन् १९४८ मा बेलायती सेनामा भर्ती भएका कृष्णबहादुर गुरुङले मंगलबार नागरिकता पाएका हुन् । मध्यनेपाल नगरपालिका–२ तान्द्राङटक्सारका उनको नागरिकतामा जन्ममिति १९८२ चैत ५ (सन् १९२६ मार्च १८) उल्लेख छ ।

कुनै पनि कागजातबिना बेलायती सैनिकमा भर्ती भएका उनी मलाय (मलेसिया) र सिंगापुरमा १५ वर्ष बिताएर २०१९ मा सेवा निवृत्त भएर फर्किए । घर फर्के पनि करिब दुई दशक उनी गाउँमा नियमित बसेनन् । त्यसयता भने उनी घरमै बस्छन् । पत्नी बिजमायाको २० वर्षअघि नै निधन भइसकेको छ । बेलायत सरकारले बेलायती भूपूलाई बेलायत बस्ने छुट दिए पनि कृष्णबहादुर गएनन् । ‘मलाई मेरै जन्मभूमि प्यारो लाग्यो । जहाँ बसे पनि बाँच्ने नै हो । एक दिन मर्नैपर्छ भनेर म बेलायत गइनँ,’ उनले भने, ‘धेरैले किन नगएको भनेर पनि सोधे । बेलायतका लागि जे गर्नु थियो गरियो, अब गाउँघरमै बस्छु ।’

गाउँको जग्गा उनका बुबा डम्बरबहादुरको नाममा छ । कृष्णबहादुरका शेरबहादुर र श्रीप्रसाद दुई छोरा छन् । जेठी साबी, माइली तिलु र कान्छी मंगली गरी तीन छोरी छन् । पत्नी बिजमायाको निधन भएकाले पेन्सन कान्छो छोरा श्रीप्रसादको वारेसनामामा छ । आफ्ना बुबाबाट जग्गा नामसारी गरेर छोरालाई दिन उनलाई नागरिकता बनाउन बाध्यता आइलागेको हो । ‘अहिलेसम्म नागरिकता चाहिएको थिएन, कस्तो हुन्छ, थाहा पनि थिएन,’ कृष्णबहादुरले भने, ‘छोराले बनाउनुपर्ने भयो भनेर आएको हुँ ।’

प्रशासकीय अधिकृत जगदीश मिश्रले हस्ताक्षर गरेको नागरिकतालाई मंगलबार प्रमुख जिल्ला अधिकारी वैद्यले कृष्णबहादुरलाई हस्तान्तरण गरे । ‘अहिलेसम्म नागरिकताविहीन बनेर बस्नु नौलो कुरा भयो । अझ बेलायती सेनाका काम गरेको व्यक्ति,’ उनले भने, ‘१६ वर्ष पुगेपछि हरेक प्रशासन कार्यालयले नागरिकता प्रदान गर्छन् । हामी आफ्नै देशका नागरिक बन्न छुट्नु हुँदैन ।’