याक एन्ड यतिको पाँचतारे र क्यासिनो इजाजत रद्द
याक एन्ड यतिले ४२ करोड रुपैयाँ र नेपालगन्जको ड्रिमल्यान्डले ३८ करोड रुपैयाँ रोयल्टी बक्यौता
काठमाडौँ — सरकारले राजधानीको दरबारमार्गस्थित होटल याक एन्ड यतिको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णयबाट करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको भन्दै याक एन्ड यतिको पाँचतारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गरेको हो ।
पर्यटन विभागका महानिर्देशक तारा अधिकारीका अनुसार करिब ३८ करोड रुपैयाँ बक्यौता नतिरेपछि नेपालगन्जको ड्रिमल्यान्ड होटल र क्यासिनो बन्द गर्ने निर्णय पनि बुधबारै गरिएको छ ।
पटक–पटक ताकेता गर्दा पनि सरकारलाई रोयल्टी नबुझाएपछि पर्यटनमन्त्री प्रेम आलेले बुधबार साँझ याक एन्ड यति होटल लिमिटेडको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र, नेपालगन्जको ड्रिमल्यान्ड होटल र त्यहाँ रहेको आधुनिक उपकरणबाट खेलाइने क्यासिनो बन्द गर्ने निर्णय गरेको विभागले जनाएको छ । विभागका अनुसार दुवैलाई राजस्व दाखिलाका लागि कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयले ताकेता गर्दै आएको थियो । त्यसका लागि पटक–पटक सूचना जारी गरिएको थियो ।
विभागले पछिल्लो पटक गत माघ १९ मा गोरखापत्र दैनिकमा सातदिने सूचना निकालेको थियो । विभागका अनुसार २०४८ पुस २२ मा मन्त्रालयबाट क्यासिनो सञ्चालनको इजाजत पाएको याक एन्ड यतिले २०७० यता रोयल्टी बुझाएको छैन ।
विभागले मन्त्रालयको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई सहयोगका लागि पत्र पठाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई याक एन्ड यति होटलका नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन पत्राचार गरिएको छ । त्यस्तै राष्ट्र बैंकलाई होटलका नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन अनुरोध गरिएको छ । नेपालगन्जको होटल प्रदेश सरकारमातहत रहने भएकाले विभागले दर्ता भएको देखिए खारेज गर्न प्रदेश सरकारलाई भनेको छ ।