उच्च हिमाली भेगमा हिमपात, राजमार्गहरू अवरूद्ध

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले गर्दा राजमार्गहरू अवरूद्ध भएका छन् ।बुधबार रातिदेखि मौसम बदली भएपछि जिल्लाका अधिकांश ठाउँमा बिहीबारबाट हिमपात भएको छ । ब्यास र अपिहिमाल गाउँपालिकाका लेकाली भेगमा तथा उच्च भू–भागहरूमा हिमपात भएको हो ।

यसपालि पटकपटकको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको ब्यास गाउँपालिका–२ राप्लाका जीवन बुढाथोकीले बताए । हिमपातले गाईबस्तुहरूलाई पनि समस्या भएको छ । वर्षा र हिमपातसँगै चिसोले बाहिर निस्कन समस्या भएको छ । लगातारको वर्षा र हिमपातले सदरमुकाम खलंगालगायत जिल्लाभरी नै चिसो बढेको छ ।लेकाली बस्तीहरूमा बाक्लो हिउँ जम्न सुरु भएको अपिहिमाल गाउँपालिका–४ का शोवनसिंह लोथ्यालले बताए । खडेश्वरीमा हिमपात भइरहेको छ । यहाँका क्षत्ति, घाजिर लगायतका उच्च क्षेत्रका बस्तीमा बिहानैदेखि हिउ परिरहेकाले अहिले बाक्लो हिमपात भएको छ ।

घुसा, खण्डेश्वरी, सितोला लगायतका धेरै बस्तीमा हिमपात भइरहेको स्थानीयले बताएका छन् । ब्यास र दुहु गाउँपालिकाका दुम्लिङ, राप्ला, सिना, सुन्सेरा, धौलाकोट, हुती, पिपलचौरी, कम्दा, धारी, सुत्खोला क्षेत्रका माथिल्लो भागमा बाक्लो हिउँ जमेको र तल्लो क्षेत्रहरूमा दिउँसोदेखि हिउँ परिरहेको दुहुका स्थानीय मानसिंह डडालले बताए ।

बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत देहिमाण्डौ क्षेत्रमा सडकमा हिउँ जमेको छ । हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाको टोलीले हिउँ हटाउने काम गरेका छन् । यस्तै जुम्लामा भारी हिमपात भएको छ । जुम्लाबाट चल्ने लामो दूरीमा सवारीसाधन हिमपातले गर्दा चल्न सकेका छैनन् ।

हिमपातले रुकुम– बागलुङ हुँदै पोखरा जोड्ने लोकमार्ग अवरुद्ध भएको छ । रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठका अनुसार भारी हिमपातपछि बिहीबारदेखि लोकमार्ग अबरुद्ध भएको हो । ‘सडकमा बाक्लो हिउँ जमेका कारण सवारी साधन चल्न सकेका छैनन्,’ उनले भने ।काठमाडौंलगायत क्षेत्रमा पनि बिहीबारदेखि वर्षा भइरहेको छ। शनिबारसम्म मौसम प्रभावित हुने र त्यसपछि मौसम सफा हुने बताइएको छ ।

देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।