राप्रपा अध्यक्ष लिङ्देनले २४ पदाधिकारी मनोनित, निवर्तमान अध्यक्ष थापाद्वारा चेतावनी (पूर्णपाठ)
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले २४ जनालाई पदाधिकारीमा मनोनित गरेका छन् । लिङ्देनले उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री गरि २४ जनालाई मनोनित गरेका हुन् ।
जसअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी मनोनित भएका छन् भने महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लाद प्रसाद साह मनोनित भएका छन् । यस्तै प्रवक्तामा भक्ति प्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल मनोनित हुँदा सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्ण बहादुर चन्द मनोनित भएका छन् ।
यस्तै सह महामन्त्रीमा मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित हुँदा सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दिपक कुमार राइ मनोनित भएका छन् ।
मलाई भित्तामा पुर्याउन खोजेको हो ? : निवर्तमान अध्यक्ष कमल थापा
त्यस्तै निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेखेर आफूलाई भित्तामा पुर्याउन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।आइतवार ध्यानाकर्षणपत्र लेख्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
‘मेरो मागलाई उपेक्षा गरेर मलाई भित्तामा पुर्याउने र पार्टीलाई दुर्घटनातर्फ धकेल्ने कार्य तपाईंबाट हुने छैन भन्ने अपेक्षा गरेको छु,’ पत्रमा लेखिएको छ । थापाले मंसिर २७ गते पत्र लेख्दै महाधिवेशनमा निर्मल निवास (पूर्वराजा ज्ञानेन्द्र शाह)को हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गरेका थिए ।
सोही पत्रबारे थापाले लिङदेनलाई आइतवार ध्यानाकर्षण पत्र पठाएका हुन् । सो पत्रमा राप्रपा निर्मल निवासले खोलेको पार्टी नभएकाले पूर्वराजाले पार्टी चलाउने चेष्टा गर्न नहुने उल्लेख छ । ‘राप्रपा सक्रिय र निरंकुश राजतन्त्रको पक्षमा छैन भन्ने कुरा हामीले छाती खोलेर भन्न हिच्किचाउनु हुँदैन,’ पत्रमा उनले भनेका छन् ।