समतामूलक र सभ्य समाजले मात्रै सहिदको आकांक्षा पूरा हुन्छ : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाजले मात्रै सहिदको आकांक्षा पूरा हुने बताएकी छन् । सहिद दिवसको अवसरमा आइतबार सन्देश दिँदै राष्ट्रपति भण्डारीले समतामूलक र सभ्य समाजले मात्रै सहिदहरुको आकांक्षा पूरा हुने बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले सहिदहरुको बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन,विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुन सबैलाई आग्रह समेत गरेकी छन् ।
राष्ट्रपति भण्डारीले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्वद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरुको आकांश साकार पार्न मन वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्दै कामना समेत गरेकी छन् ।
सन्देशमा भनिएको छ, ‘महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु ।’
‘सहिद दिवस देशका लागि प्राण आहुति गर्ने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन हो । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले एक विकसित राष्ट्र निर्माण गर्न आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गानाहरूको सम्झना गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवसको रूपमा मनाइँदै आइएको छ,’ राष्ट्रपति भण्डारीले जारी गरेको सन्देशमा उल्लेख छ ।
सहिदहरुको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवसको रूपमा मनाइँदै आइएको छ ।