चुनाव हुँदैन कि भन्ने अन्योल अन्त्य भयो : एमाले उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौँ — नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनमा जेठभित्र स्थानीय तहको चुनाव गर्ने विषयमा भएको सहमतिले पछिल्लो समयमा चुनाव हुँदैन कि भन्ने विषयको अन्योल अन्त्य भएको बताएका छन् । उनले विभिन्न छिद्रहरु खोज्दै चुनाव धकेलेर मुलुकलाई अन्योल राख्ने सत्तारुढ गठबन्धनको प्रयास पनि असफल भएको बताए ।

‘औपचारिकरुपमा सरकारले निर्णय गरेपछि मुलुक निर्वाचनतर्फ जान्छ । केही दिन मुलुकलाई अन्योलमा राख्ने गलत काम भएको थियो । त्यो सफल भएन र त्यो अन्त्य भयो,’ ज्ञवालीले भने । चुनाव सार्ने बाहना उचित नभएको बताउँदै उनले भने, ‘चुनाव सार्ने बाहना कुनै पनि उचित थिएन । त्यो संवैधानिक पनि, लोकतान्त्रिक पनि थिएन । गर्नुपर्ने कर्तव्य पूरा नगरेर छिद्रहरु खोज्दै निर्वाचनलाई पर सार्ने विषय संविधानको मर्मविपरीत थियो ।’

ज्ञवालीकाअनुसार निर्वाचन आयोगको निरन्तरको ताकेता, एमाले पार्टीलगायत विभिन्न दलहरुको खबरदारी, संविधानविद् र कानुन व्यवसायीहरुको ध्यानाकर्षण, राष्ट्रपतिबाट समेत भएको ध्यानाकर्षणको कारण गठबन्धन चुनाव गर्न र चुनावको विषयमा सकारात्मक ढंगले सोच्न बाध्य भएको छ ।

उनले चुनाव गराउन आवश्यक पर्ने कानुनी तथा प्रशासकीय व्यवस्थापनमा सघाउन एमालेको सकारात्मक भूमिका रहने बताए । ‘स्थानीय तहको २ महिनाअघि चुनाव गर्ने विषयमा सरकारले मिति घोषणा गरेर त्यसअनुसार जानुपर्ने थियो । कानुनमा जुन विषयहरुलाई सच्याउनु पर्ने विषयमा छ त्यसलाई सच्याउनुपर्छ । मूलत: स्थानीय तहहरु जनप्रतिनिधिविहीन नबनाउने सुनिश्चिततासहित जो जे विषयमा जाने वा मिलाउने त्यसमा एमालेले सघाउँछ’, ज्ञवालीले भने, ‘समयमै चुनाव गर्नका लागि कानुनी वा प्रशासनिक व्यवस्थापनको विषयमा छ भने त्यसलाई सकारात्मक रुपमा लिन्छौं ।’

स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल : एमाले महासचिव

त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ दलको स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएको बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वैशाखमै निर्वाचन गर्नुपर्ने दबाब दिँदै आए पनि सरकारले निर्वाचनको मिति तोक्न आलटाल गर्दै आएको थियो।

सत्ता गठबन्धनको शनिबार भएको बैठकले जेठ मसान्तभित्रै स्थानीय तहको निर्वाचन गर्ने तयार भएको थियो। सत्तारुढ गठबन्धन निर्वाचन गराउन तयार भएपछि एमाले महासचिव पोखरेलले जनमतको तागतले सरकार निर्वाचन गर्न तयार भएको बताएका हुन्।

‘स्थानीय तहको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठबन्धनले भनेछ- ‘जेठ अगावै चुनाव गर्ने’। हो, यसैलाई भनिन्छ जनमतको तागत,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।