मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजित गरेको छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन विमल घर्ति मगरले निर्णायक गोल गरे ।

विमलले खेलको ५५ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । तीन वर्षपछि टिममा पुनरागमन गरेका विमलले पहिलो खेलमै गोल गरेका हुन् ।अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो । नेपालको लागि यो उनको नवौं गोल हो ।

मरिससविरुद्ध नेपाल सुरुआतबाटै आक्रामक रुपमा प्रस्तुत भएको थियो । खेलको १४ औं मिनेटमा नेपालका सुमन लामाले पेनाल्टी क्षेत्र बाहिरबाटको सशक्त प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो । खेलको २२ औं मिनेटमा मरिससका स्टेभेन नाजिराको प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले सहजै बचाए ।

३२ औं मिनेटमा नेपालका सुमनले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल आकाशियो । खेलको ३६ औं मिनेटमा मरिससका एड्रिन फ्रान्कोइसले सिक्स यार्ड बक्स नजीकैबाट प्रहार गरेको बल किरणले सहजै बचाए । ४१ औं मिनेटमा नेपालका सुनिल बलको क्रसमा देवेन्द्र तामाङको हेडरले पोस्टको दिशा लिन सकेन । खेलको ४५ औं मिनेटमा नेपालका अन्जन विष्टले गोलको सुनौलो अवसर खेर फाले । मरिससको गोलकिपरसँगको वान भर्सेस वानको स्थितिमा अन्जनले बाहिर प्रहार गरे ।

खेलको ४६ औं मिनेटमा फेर्नान्डो ज्याक्सनको प्रहार पोस्टमा लाग्दै फर्किएपछि मरिसस अग्रता बनाउन चुकेको थियो । ६५ औं मिनेटमा मरिससका स्टेभेन नाजारियाको प्रहार गोलकिपर किरणले बचाए । खेलको ७५ औं मिनेटमा जगजित श्रेष्ठको फ्रि-किकमा अन्जनको फ्लिक हेडर बल पोस्टको क्रसबारमा लागेर फर्किदा नेपाल दोब्बर अग्रता बनाउन चुकेको थियो । यस्तै ७७ औं मिनेटमा अन्जनले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल पुन: पोस्टमा लागेर फर्किएको थियो । त्यहिँ रिबाउन्डमा जगजितको हेडर मरिससका गोलकिपर केभिनले उत्कृष्ट बचाऊ गरे ।

खेलमा विमल प्लेयर अफ दि म्याच चुनिए । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो । नेपालले अब मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण मंगलबार खेल्नेछ ।