सहमतिबिना व्यक्तिको फोटो/भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न गृह मन्त्रालयको आग्रह
काठमाडौँ — सरकारले सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक) गर्ने नाममा व्यक्तिको जथाभावी फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रह गरेको छ । गोप्य भिडियो तयार गर्ने र सामाजिक सञ्जालमा राख्ने कार्यहरु भइरहेको भन्ने गुनासो आएको भन्दै बिहीबार गृहमन्त्रालयले विज्ञप्तिमार्फत् व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको फोटो‚ भिडियो सामाजिक सञ्जालमा प्रकाशन गर्न निषेध गरेको हो ।
‘व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालहरूमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही हुने व्यवहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले भनेका छन् ।
मन्त्रालयले सार्वजनिक स्थलहरूमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुन सक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवम् व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्न सक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्न नमिल्ने जनाएको छ ।
पछिल्लो समय प्रांकका नाममा मानिसहरुलाई दुख दिने मात्र नभई गोपनीयता समेत उल्लंघन गर्ने कार्य मौलाइरहेको छ । कतिपयले प्रांक भन्दै अश्लिल भिडियोसमेत बनाएर युट्यूवमा पोष्ट गर्ने गरेका छन् । पहिलोपटक गृह मन्त्रालयले यस्तो गतिविधि रोक्न सार्वजनिक चेतावनी दिएको हो ।
यदि कसैले त्यस्तो गरे कानुनबमोजिम कारबाही हुने गृहले चेतावनी दिएको छ ।