विदेशमा नेपालीलाई अलपत्र पार्ने म्यानपावरलाई कारबाही गर्छाैँ : मन्त्री श्रेष्ठ
काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरूलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका छन् । उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरूले विभिन्न देशमा पुर्याइँ नेपाली युवाहरूलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरे।
ठगीमा परेका नागरिकहरूले आफ्ना गुनासोहरू सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन पनि उनले आग्रहर गरे । उनले दलालहरूबाट ठगिने क्रमलाई रोक्नका लागि मन्त्रालयले विभिन्न समयमा छड्के, अनुगमन, नयाँ–नयाँ गन्तव्यहरूको खोजि, श्रम सम्झौता र विभिन्न देशका कुटनीतिक नियोगहरूसँगको भेटघाटको क्रमलाई तीव्रता दिएको जानकारी दिए।
‘म मन्त्रालयमा आइसकेपछि श्रमीकहरूको हकहितको लागि असाध्यै जिम्मेवार तरिकाले लागेको छु । विभिन्न छड्के अनुगमनदेखि नयाँ नयाँ गन्तव्यहरूको खोजी कार्यदेखि लिएर, श्रम सम्झौता गर्नेदेखि लिएर विभिन्न देशका कुटनीतिक नियोगदेखि सबैसँग भेटघाटको क्रमलाई तीव्र बनाएका छौँ,’ उनले भने, ‘यसै सिलसिलामा केही दिनदेखि यूएईमा अलपत्र परेका कामदारहरूको विषयमा पनि सरकारको तर्फबाट गम्भीर ध्यानाकर्षण भएको छ । दलालले अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अफ्ठ्यारोमा परेको भनेर मलाई दिनहुँ कयौँ गुनासो आउने गरेको छ ।
वैदेशिक रोजगार ऐनविपरीत भिजिट भिसाको रूपमा श्रमिकहरूलाई अलपत्र बनाउने नाममा संलग्न कम्पनी वा व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकार प्रतिवद्ध छ । तत्काल यो समस्याको समाधान गर्न र यसलाई कसरी निर्मुल बनाउन सकिन्छ भनेर गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि ज्यूहरू सम्मिलित एउटा अधिकार सम्पन्न कार्यदल आजमात्रै हामीले गठन गरेका छौँ ।’ मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेहरूले प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र जान पनि आग्रह गरे ।