मृगौला रोगी विश्वकर्मालाई यूकेबाट ८ लाख ८९ हजार सहयोग

लण्डन । कास्की माछापुच्छ्रे गाउँपालिका -७, धम्पुस निवासी मृगौला रोगी ३८ वर्षीया कुमार विश्वकर्मालाई बेलायतबाट ८ लाख ८९ हजार रुपैयाँ आर्थिक सहयोग पठाइएको कुरा धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्ष गोलमान गुरुङले खबर यूकेलाई जानकारी गराउनुभएको छ ।

धम्पुस पोखरी घोताने परिवार यूकेको नेतृत्वमा संकलित सहयोग रकम गत मंगलबार पीडित विश्वकर्मालाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । धम्पुस पोखरी गाउँको सुन्दर दृश्यहरु देखिने नर्थफेस भ्यू पोइन्टमा आयोजित कार्यक्रममा विश्वकर्मालाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।कोरोना संक्रमण बढेकोले नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा नियम अपनाउदै माछापुच्छ्रे गाउँपालिका-७ धम्पुस गाउँको वडा अध्यक्ष समबहादुर गुरुङ, मेजर रिटायर्ड खुशीमान गुरुङ एमभीओ, धम्पुस परिवार यूकेका पूर्व अध्यक्ष अमर गुरुङ, पीडित कुमार विश्वकर्माको परिवार, बृद्ध आमाबुबाहरु साथै स्थानिय आमा समूहको कार्यसमिति र अन्य गाउँलेहरुको उपस्थितिमा उक्त सहयोग रकम प्रदान गरिएको हो ।

कार्यक्रममा धम्पुस पोखरी घोताने परिवार नेपालको सहसचिव अमृत गुरुङले बेलायतबाट चन्दा दिनुहुने १७६ जना चन्दादाताहरुको नाम र उहाँहरुले दिनुभएको रकम विवरण पढेर सुनाउनुभएको थियो र धम्पुस पोखरी घोताने परिवार यूकेका संरक्षक लेप्टेनेण्ट रिटायर्ड जसबहादुर गुरुङको बाहुलीबाट कुमार विश्वकर्मालाई औपचारिक रुपमा चेक हस्तान्तरण गरिएको थियो ।

धम्पुस पोखरी घोताने परिवारका प्रथम उपाध्यक्ष ओमप्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकार एवं पूर्व अध्यक्ष जगबहादुर गुरुङले स्वागत मन्तव्य तथा सचिव कुलबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

मृगौला पीडित कुमार विश्वकर्माको हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

स्मरण रहोस्- गत बर्ष कोरोना महामारीको समयमा पनि धम्पुस पोखरी टोल बिकास अभियानको लागि बेलायतवासी धम्पुस पोखरीका दाजुभाई तथा चेलीबेटीहरुले रु २७ लाख ४६ हजार आर्थिक सहयोग गरेका थिए ।