ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति चोरी

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको तीन सय वर्ष पुरानो मूर्ति चोरी भएको छ । गएराति १ बजेदेखि ३ बजेको समयबीच धातुको मूर्ति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरीका प्रवक्ता सिद्धिविक्रम शाहले मूर्ति चोरी भएको थाहा पाएपछि खोजिकार्य थालिएको जानकारी दिए । ‘‘बालकुमारी मन्दिरको धातुको मूर्ति चोरी भएको हो । पुरानो मूर्ति हो, कति वर्ष पुरानो भन्ने खुलेको छैन् । मूर्ति गएराति १ बजेदेखि ३ बजेबीचको समयमा चोरी भएको देखिएको छ,” प्रवक्ता शाहले भने ।

त्यस्तै मूर्ति चोरी भएको खबर थाहा पाउना साथ ऊर्जामन्त्री पम्फा भुसाल आइतबार बिहान घटनास्थलको निरीक्षण गर्न पुगेकी थिइन् । सुनाकोठी भुसालको निर्वाचन क्षेत्र पर्छ । मन्त्री भुसालले मूर्ति चोरीको भत्सर्ना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको जानकारी गराइन् ।