पेरिसडाँडामा माओवादी बैठक : निर्वाचनको विषयमा छलफल
प्रचण्डको सचिवालय भन्छ- बालुवाटार बैठकको जानकारी छैन
काठमाडौं – नेकपा (माओवादी केन्द्र)को पार्टी केन्द्रीय आयोगका अध्यक्षको बैठक पेरिसडाँडामा सुरु भएको छ । पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा भर्खरै पेरिसडाँडामा बैठक सुरु भएको प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
बैठकमा प्रचण्डसँगै पार्टी केन्द्रीय आयोगका अध्यक्ष र निवर्तमान स्थायी समिति सदस्य उपस्थित रहेका छन्। प्रचण्डले बैठकमा केन्द्रीय आयोगका अध्यक्ष र स्थायी समिति सदस्यसँग परामर्श गर्ने मल्ले बताए । बैठकमा राष्ट्रियसभा तथा तीन तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजनालगायत समसामयिक विषयमा छलफल हुनेछ ।
बालुवाटारमा बोलाइएको भनिएको सर्वदलीय बैठक स्थगित भएपछि माओवादी बैठक सुरु भएको हो । प्रधानमन्त्री देउवाको सचिवालयले सर्वदलीय बैठक बोलाएको भने पनि प्रचण्डका स्वीकय सचिव मल्ले त्यो विषयमा जानकारी प्राप्त नभएको बताए । ‘बालुवाटार बैठकको विषयमा हामीलाई जानकारी छैन’, मल्लले भने, ‘मिडियामा कसरी आयो हामीलाई थाहा भएन ।’