गौर हत्याकाण्ड दोहोर्याउने मन्त्री रेणु यादवको धम्की (भिडिओ)
जनकपुरधाम । संघीय सरकारको महत्वपूर्ण मन्त्रालय सम्हालिरहेकी भौतिक पूर्वाधार मन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले हिंसा भड्काउने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् । मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति आक्रोशित बनेकी यादवले अर्को गौर नरसंहार मच्चाउने चेतावनी दिएकी हुन् ।
बहालवाला मन्त्रीले नरसंहार मच्चाउने र एउटा पार्टीको अध्यक्षको हत्या गर्ने खुलेआम धम्की दिनु सामान्य घटना होइन । मन्त्री यादवकै पार्टी तत्कालीन मधेशी जनअधिकार फोरमले रौतहटको गौरमा २०६३ सालमा भाला रोपेर २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेका थिए ।
सो नरसंहारलाई गौरवका रूपमा स्मरण गर्दै मन्त्री यादवले सीके राउतले फणा उठाएमा त्यही हालत हुने चेतावनी दिएको भिडिओ अहिले भाइरल भएको छ । हिन्दीमा भाषण गर्दै मन्त्री यादवले तफुानसँग टकराउने कोसिस गरेमा सीके राउत पनि मारिन सक्ने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् ।
उनले भनेकी छन्-
राइस मिल अहिले पनि जिवित छ । गौरमा फणा देखाउने प्रयास नगर । यहाँ लाठी भाँच्न मानिसले जानेका छन् । तुफानसँग टकराउने प्रयास नगरे हुन्छ । यो गौर ऐतिहासिक जिल्ला हो । बलिदानी दिवसमा हिंसा गर्नु छैन, आज हामी बलिदानी दिवस मनाउन आएका छौं, भोलि म यहाँको सडकको अवस्था अवलोकन गर्नेछु ।… तुफानसँग टकराउने प्रयास गर्यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएका थियो । त्यो इतिहास डाक्टर साब (सिके राउत) ले नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, तपाईंले पनि घेराबन्दी गरेर मारिदिन्छन् । हत्या हुन्छ, सतर्क रहनुस् । डाक्टरसाबलाई म चेतावनी दिन्छ, यदि कलेजोमा ताकत छ, गाई भैंसीको दूध खाएको छ भने सिंहदरबारमा गएर घेराउन गर्नुस् । तर, जसको नसमा गाई र भैँसीको दूधको रगत बगेको छ यसलाई फासफुस कहिल्यै पनि हुँदैन, लड्ने प्रयास नगर्दा बेस हुन्छ ।