प्रदेश २ को नाम- मधेस, राजधानी जनकपुरधाम : खुसीयालीमा भोलि सार्वजनिक बिदा

जनकपुर — प्रदेश सभामा सोमबार भएको मतदानमा प्रदेश २ को नाम मधेस पारित भएको छ । दुई तिहाई बहुमतले पारित भएपछि अब प्रदेश २ को नाम मधेस प्रदेश भएको छ । झन्डै ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ ।

सोमबार प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भएको मतदानमा राजधानी जनकपुरधाम र नाम मधेस प्रदेश प्रस्ताव दुई तिहाई बुहमतले पारित भएको हो । विशेष संसदीय समितिको नामाकरणसम्बन्धी पहिलो प्रस्ताव ‘मधेस प्रदेश’ को पक्षमा ८० मत परेको छ । प्रदेशसभामा १०३ जना सदस्यमध्ये उपस्थित ९९ जना प्रदेशसभा सदस्यमध्ये १९ जनाले विपक्षमा मतदान गरेका थिए ।

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा गरेको ‘मधेस प्रदेश’ प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको थियो । योसँगै संसदीय समितिले प्रस्ताव गरेका नाम ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेस प्रदेश’ प्रस्ताव स्वत: निस्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरे ।

त्यस्तै प्रदेशको नाम मधेस र राजधानी जनकपुर भएको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको हो । प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले नाम र राजधानी टुंगिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

स्थापना भएको ४ वर्षपछि प्रदेश २ को नाम र राजधानी तय भएको छ ।