मिडिया अवार्ड प्रकरणले पत्रकार महासंघमा भाँडभैलो, बैठक बस्न सकेन
साताअघि सम्पन्न एउटा विवादित मिडिया अवार्डले नेपाल पत्रकार महासंघमा भाँडभैलो भएको छ । कपिलवस्तुमा शुक्रबारदेखि बस्ने भनिएको नेपाल पत्रकार महासंघको बैठकलाई १७ जना केन्द्रीय सदस्यहरुले बहिष्कार गरेका छन् । अध्यक्ष विपुल पोखरेलको संलग्नतामा आयोजित मिडिया अवार्डबारे प्रश्न उठाउँदै ती केन्द्रीय सदस्यहरुले बैठक बहिष्कार गरेक हुन् ।
उनीहरुले ‘मिडिया अवार्ड’ प्रकरण छानविन माग गरेका हुन् । बैठक बहिष्कार भएपछि त्यसबारे छलफल गर्न अहिले पत्रकार महासंघका पदाधिकारीको बैठक बसिरहेको छ । ‘ड्रिम हाइ नेपाल’ इभेन्ट म्यानेजमेन्ट कम्पनी होटल सोल्टीमा गरेको मिडिया अवार्ड कार्यक्रममा महासंघ अध्यक्ष पोखरेल सहभागी भएका थिए । उनले त्यो अवार्डमा महासंघको नाम प्रयोग गर्नका लागि ३ लाख रुपैयाँको सम्झौता गरेका थिए । तर त्यतिबेलै महासचिव रोशन पुरीसहितले आपत्ति जनाएका थिए । पुरीले त आफू काठमाडौं भएका बेला आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप पनि लगाएका छन् ।
मिडिया अवार्डका नाममा चलाइएको ठगी धन्दामा महासंघ अध्यक्ष पोखरेल पनि संलग्न भएको आरोप बहिष्कार गर्नेहरुले आरोप लगाएका छन् ।कपिलवस्तुको तिलौराकोटमा केन्द्रीय समिति बैठक सुरु भएलगत्तै ती केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिव पुरीको हस्ताक्षर दुरुपयोग, अध्यक्षले पैसा उठाएको र विवादित कार्यक्रममा गएर संस्थाको दुरुपयोग गरेकाले छानबिन हुनुपर्ने अडान राखेका थिए ।
मिडिया अवार्डबारे आपत्ति प्रकट गरेका महासचिव पुरीले अध्यक्ष पोखरेललाई बैठकको अध्यक्षता गरिदिन आग्रह गरेपछि केन्द्रीय सदस्यहरुले मिडिया अवार्ड र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सिफारिस पत्रमा महासंघ अध्यक्ष पोखरेलको हस्ताक्षरबारे प्रश्न उठाएर आपत्ति जनाएका थिए ।
‘मिडिया अवार्ड प्रकरण’मा प्रष्ट नपारिएसम्म बैठक अगाडि नबढाउन आग्रह गरिएको केन्द्रीय सदस्य मणि दाहालले बताए । दाहालका अनुसार केन्द्रीय सदस्यहरुले ‘मिडिया अवार्ड प्रकरण’ले महासंघको गरिमामाथि नै प्रश्न उठाएकाले छानबिन माग गरिएको हो । अध्यक्ष समेत जोडिएको कुरा आएकाले यथार्थ बाहिर नआएसम्म उनको अध्यक्षतामा बैठक अघि बढाउन नहुने पक्षमा १७ केन्द्रीय सदस्य छन् ।
त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरूले आज (शुक्रबार) कपिलवस्तुमा सुरु महासंघको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनासाथ केन्द्रीय सदस्यहरूले महासंघका अध्यक्ष विपुल पोखरेल मिडिया अवार्डका नाममा ठगी धन्दामा संलग्न रहेको आरोप लगाउँदै केन्द्रीय समिति बैठक बहिष्कार गरेका हुन् ।
महासंघका केन्द्रीय सदस्यहरूले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रमलाई मान्यता दिएको घटना छानबिन हुनुपर्ने माग गरेका छन् ।
केन्द्रीय सदस्यहरूले बैठक बहिष्कार गरेपछि सहमतिका लागि अहिले पदाधिकारीहरूबीच छलफल भइरहेको छ।