लिम्पियाधुरा-लिपुलेकबारे मोदीसँग सिधै वार्ता गर : उपसभापति धनराजको गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतीय प्रधानमन्त्रीसँग सिधा वार्ता गरेर सीमा विवाद टुंग्याउन सरकारसँग आग्रह गरेका छन् । नेपाल मुस्लिम संघ स्याङजाले बुधबार आयोजना गरेको स्वागत, बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यसो भनेका हुन् । गुरुङले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा वार्ता गरेर विवाद टुंग्याउन सरकारलाई आग्रह गरेका हुन् ।

‘राष्ट्रियताका सन्दर्भमा, राष्ट्रिय स्वाधीनताका सन्दर्भमा हामीले ढिला गर्नु हुँदैन’, उनले भने, ‘छिटोभन्दा छिटो भारतलाई कुटनीतिक नोट पठाएर, कुटनीतिक पहल गरेर सिधा वार्ता गरेर हाम्रो लिम्पियाधुरा, लिपुलेक र कालापानीका सन्दर्भमा भारतीय प्रधानमन्त्री वा शासकहरुले कुरा उठाउन नपाउने गरी वार्ता गरेर यो कुरा टुंग्याउन म आग्रह गर्न चाहन्छु ।

नेपाली कांग्रेस र पाँच दलीय गठबन्धनको सरकारले नेपाली भूमिमा भारतीय सडक निर्माणबारे कुनै प्रतिक्रिया नदिएको सन्दर्भमा उपसभापति गुरुङको सार्वजनिक अभिव्यक्ति आएको हो । डेढ साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेक हुँदै निर्माण भइरहेको सडक अझै फराकिलो बनाएर मानसरोवरसम्म पुर्‍याउने घोषणा गरेका थिए ।

देउवालाई सघाउँदा गाली गरियो : प्रकाशमानको गुनासो

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनको पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार गरेको झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलो चरणको निर्वाचनको म्यान्डेडअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको बताएका हुन् ।

नेता सिंहले केन्द्रीय नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत संस्थागत हुनुपर्ने एजेन्डा बोकेर महाधिवेशनमा मत मागेको स्मरण गर्दै मतदाताले आफूले अघि सारेका एजेन्डाअनुसार मत नदिएको गुनासो गरे । पहिलो चरणको निर्वाचनमा आफूले परिवर्तन हुनुपर्छ भनिएको नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार प्रधानमन्त्री देउवालाई सहयोग गरेको उनले बताए ।

‘दुइटा एजेन्डा बोकेर म यस पटक उठेको हुँ। एउटा केन्द्रीय नेतृत्व परिवर्तन हुनुपर्छ। दोस्रो पार्टी विधिसम्मत संस्थागत हुनुपर्यो। त्यो एजेन्डामा भोट मागेको हुँ,’ सिंहले भने, ‘फर्स्ट राउन्डको म्यान्डेट मैले परिवर्तन गर्नुपर्छ भनेकै नेतृत्वको पक्षमा देखियो। डेमोक्रेटिक पार्टीको डेमोक्रेटिक एक्सरसाइजमा सहभागी भइसकेपछि म्यान्डेट त मान्नुपर्यो नि।’

उनले पहिलो चरणको निर्वाचनको म्यान्डेट मान्दा धेरैको टाउको दुखेको पनि टिप्पणी गरे। ‘मैले त्यो म्यान्डेट मान्यो भनेर कपाल दुखाई छ यहाँ,’ नेता सिंहले भने । नेता सिंहले चौधौं महाधिवेशनको दोस्रो चरणमा देउवालाई सघाउँदा आफ्नो चरित्र हत्या गरिएको पनि गुनासो गरे । ‘पार्टीमा शेरबहादुर देउवालाई सहयोग गर्यो भनेर मविरुद्ध अनावश्यक भ्रम छरियो’, उनले गुनासो गर्दै भने, ‘मेरो चरित्र हत्याको प्रयास पनि गरियो। सामाजिक सञ्जालमा तथानाम गाली गरिएको छ। लेखिएको छ।’

उनले आफू गणेशमान पुत्र भएकै कारण मात्रै राजनीतिमा नआएको पनि प्रष्ट्याए। तल्लो तहदेखि नै आफू संघर्ष गरेर कांग्रेसको राजनीतिमा स्थापित हुँदै आएको सिंहले जिकिर गरे । ‘थाहा हुनुपर्यो, संगठन गर्दा सजिलो छ? नेताको छोरा भनेर पैसा कमाउनसम्म कमाएर म फलानो भनेर उभिन आएको छौं हामी?,’ उनले प्रश्न गरे, ‘हामी ग्रास रुटदेखि नै जेल गएर आएको हो। पार्टीमा त्यसै लागेको हो? अर्काको मिहिनेतमा टुपुक्क नेता बन्न आएका हौँ र हामी?’ । उनले पार्टीभित्रैका नेतालाई हराएकाहरु पनि र जितेकाहरू पनि कांग्रेस नै हुने चलनले कांग्रेस अघि नबढ्ने पनि बताए।

‘आफ्नै नेतालाई हराएका पनि कांग्रेस हुने, जितेका पनि कांग्रेस नै हुने, यसरी पार्टी चल्छ?’, उनले भने, ‘राजनीति मेवा खाने क्षेत्र होइन। दल भनेको सेवा गर्ने हो। अब म यति वर्ष जेल गएँ भन्दैमा मतदाताले मान्दैनन् ।’ नेता सिंहले कोरोना महामारीबीच पनि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरेर पार्टीको काममा निरन्तर खटिरहन पनि नेता-कार्यकर्तासँग आग्रह गरे ।