एमाले कास्कीमा जुटेन सहमति, आज मतदान हुने
कास्की । नेकपा एमालेको १०औँ जिल्ला अधिवेसन अन्तर्गत कास्कीमा सहमतिको प्रयास तोडिएको छ । धेरै पटकसम्म नेतृत्व टोलीले सहमतिमा कमिटी गठन गर्ने प्रयास गरेपनि त्यो असफल भएको हो । जिल्ला अध्यक्षका लागि दुई जनाले आइतबार नै मनोनयन दर्ता गराइसकेका छन् । मनोनयनपछि पनि सहमति खोजिएको थियो ।
आज मतदानको कार्यतालिका छ । सहमतिको लामो प्रयास असफल भएपछि अन्ततः मतदानमा धकेलिएको हो । कार्यवहाक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर बैरागीले अध्यक्षमा उम्मेद्वारी दिएका थिए । उनीहरुले छुट्टाछुट्टै प्यानल खडा गरेका छन् । उपाध्यक्षमा बैरागी प्यानलमा प्रभा कोइराला र गुरुङ प्यानलबाट तेजनारायण अधिकारीले मनोनयन दर्ता गरेका छन् । सचिवमा गुरुङ प्यानलबाट विष्ण केसी र बैरागी प्यानलबाट बैनबहादुर अधिकारी क्षेत्री तथा सहसचिवमा २(२ जनाको उम्मेदवारी परेको छ ।
बैरागी प्यानलबाट नवराज ओझा र लेखबहादुर तामाङ (दर्शन लामा) तथा गुरुङ प्यानलबाट इमानराज पौडेल र सुनमाया भुजेलको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ । जिल्ला सदस्यमा मादी र रुपा गाउँपालिकाबाट सर्वसम्मत चयन भएको छ । केन्द्रमा सबै अध्यक्ष केपी ओली गुटका भए पनि प्रदेश तहमा उनीहरु विभाजित छन् । गुरुङ पृथ्वीसुब्बा गुरुङको प्यानललाई हाँकिरहेका छन् भने बैरागीले खगराज अधिकारीको समूहलाई नेतृत्व गरेका छन् ।
यहाँ मतदानका लागि ९ सय १४ मतदाता छन् । ७२ वडा रहेको कास्कीमा भूगोल, संघसंगठन र शुभेच्छुक संस्थाबाट मतदाता छानिएका हुन् । यो चुनावले केन्द्रमा सकिएको भनिएको गुटको विजारोपण पछि गर्दैछ ।