बेलायतमा ‘सेभ मि फ्रम एरेन्जड म्यारिज’ भन्दै कसले गर्‍यो विज्ञापन ?

अहिले सामाजिक संजालमा बेलायतको बर्मिंघमका मुख्य सडकमा ‘सेभ मि फ्रम एरेन्जड म्यारिज’ लेखिएको होर्डिङ बोर्डको चर्चा छ । होर्डिङ बोर्डमा एक पुरुषको हाँस्दै गरेको तस्विर पनि छ। उनी विवाहका लागि केटी खोजिरहेका छन् । तर, उनी प्रेम विवाह गर्न चाहन्छन्, ‘एरेन्जड म्यारिज’ होइन ।

२९ वर्षीय मुहम्मद मलिक लन्डनमा बैंक कन्सल्टेन्टका रुपमा कार्यरत छन् । उनलैले होर्डिङ बोर्डहरु खरिद गरेर विवाहको लागि विज्ञापन गरेका हुन् । उनले आफू मन मिल्ने मुस्लिम महिलाको खोजीमा रहेको बताएका छन् । यसरी विज्ञापन गर्न उनले परिवार र साथीभाइसँग पहिला कुरा गरेका थिए। आमालाई मनाउन पहिला गाह्रो भएपनि पछि सबैको साथमा उनले विज्ञापन गरेका हुन् ।

होर्डिङ बोर्डमात्रै होइन उनले ‘फाइन्ड मलिक अ वाइफ’ नामक वेबसाइट नै खोलेर श्रीमती खोज्ने प्रयास गरिरहेका छन् । उनले यसरी विज्ञापन गरेपछि सयौंले ‘इन्ट्रेस्ट’ देखाउँदै सम्पर्क गर्ने प्रयास गरेको उनले बताएका छन् । यसरी राखिएका होर्डिङबोर्डहरु १४ जनवरीसम्म राखिने उनले जानकारी दिए ।