नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालनबारे छानबिन समिति गठन, संरचना हटाएरै छाड्छु : मन्त्री आले

काठमाडौँ — नारयणहिटी दरबार संग्राहलयको परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई तीन दिनको म्याद दिई राय/सुझावसहितको प्रतिवेदन तयार गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

समितिको सदस्यहरूमा मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् । बिहीबार मन्त्रीस्तरको निर्णयले समिति गठन गर्न भनेको हो ।

शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटी दरबार संग्रहालयलाई इतिहासका लागि संरक्षण गर्नुको सट्टा सरकारले परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनका लागि भाडामा दिएको छ । महिनामा जम्मा २ लाख २१ हजार रुपैयाँ भाडा आउने निश्चित गरी संग्रहालयभित्र धमाधम संरचना निर्माण भएपछि पर्यटनमन्त्री प्रेम आलेले निर्माण कार्य रोक्न आदेश दिएका थिए ।

संग्रहालयभित्र रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालन गर्न प्रतिस्पर्धामा रहेका तीनै कम्पनी (बतास एसोसिएट्स, बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट र होटल आनन्द) बतास समूहका थिए ।

नारायणहिटी परिसरभित्र व्यापारिक हिसाबले बनाइएका संरचना हटाएरै छाड्छु : मन्त्री आले

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसाबले बनाइएको संरचना हटाएरै छाड्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार निजगढ विमानस्थलका विषयमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ओलीले नारायणहिटी दरबार संग्रहालयको संरक्षणका लागि मन्त्रीस्तरीय वा मन्त्रिपरिषदबाट निर्णय गरेर संरचना हटाएरै छाड्ने बताएका हुन् ।

उनले एक पटकका लागि नभएर सदा सदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने स्पष्ट पारे । त्यस्तै सर्वदलीय बैठकमा निजगढ विमानस्थल निर्माणलाई अघि बढाउन प्रधानमन्त्रीलगायत सबै दल सहमत भएको उनले जानकारी दिए ।

काठमाडौं विमानस्थलको बिकल्पको रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भन्दै उनले आठ हजार ५० हेक्टर जमीन विमानस्थलको नाममा आइसकेको जानकारी दिए । मन्त्री आलेले विमानस्थल नजिकको नदि संरक्षणका साथै टाङ्गीया बस्ती स्थानान्तरण गरिने बताए ।

उनले विमानस्थललाई अघि बढाउनका लािग विभिन्न मोडलमा छलफल भइरहेको जानकारी गराए । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज कुमार क्षेत्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्य योजनाका बारेमा जानकारी गराएका थिए ।