शिक्षा मन्त्री पौडेल केएमसीमा, २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट दिन निर्देशन

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेजमा पुगेका छन् । कलेजले अतिरिक्त शुल्क लिएको विद्यार्थीहरूले उजुरी र गुनासो गरेपछि बुझ्न मन्त्री पौडेल आज भक्तपुरस्थित मेडिकल कलेज पुगेका हुन् ।

मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र जिल्ला प्रशासन कार्यालय भक्तपुरबीच छलफल गरेर कलेजले लिइरहेको शुल्कबारे भोलिसम्म रिपोर्ट पेश गर्न निर्देशन पनि दिएका छन् । विद्यार्थीहरूले कलेजले होस्टेल शुल्क पनि बढी लिएको गुनासो गरेका छन् ।

‘विद्यार्थीहरूले कलेजले बढी शुल्क लियो भन्ने गुनासा गरेका छन् । मन्त्रालयमा उजुरी पनि परेको छ,’ मन्त्री पौडेलले भने, ‘सञ्चार माध्यममा पनि कलेजले अतिरिक्त शुल्क लिएको खबर छ । नियमभन्दा बाहिर गएर शुल्क लिएको पाइएमा कारबाही हुन्छ ।’

कलेज प्रशासनले भने मन्त्री पौडेलसँग शुल्क बढी लिइएको पाइएमा विद्यार्थीहरूसँग वार्ता गर्न तयार रहेको जवाफ दिएका थिए । कलेजमा राजनीतिले प्रवेश पाएको र विद्यार्थीहरूले ताला लगाएको पनि कलेज प्रशासनको भनाइ थियो । कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा अखिल क्रान्तिकारी, नेविसंघ तथा अभिभावकहरूले विरोध गरिरहेका छन् ।