सरकारी सेवामा प्रबेश गरेको २ दशकमै ३२ स्थानमा घरजग्गा, १९ वटा बैंकमा रकम मौज्दात
६ करोड ८७ लाख रुपैयाँ बिगोसहित विशेष अदालतमा मुद्दा दर्ता
कैलाली – सरकारी सेवामा प्रवेश गरेको दुई दशकमा उपसचिवस्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको वन निर्देशनालय, कैलालीका निमित्त वन निर्देशक हेमराज बिष्टले ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात गरेको पाइएको हो ।
विष्टले अवैध सम्पत्ति जोडेको भन्दै अख्तियारले ६ करोड ८७ लाख रूपैयाँ बिगोसहित सजाय कायम गरी विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । बिष्ट दम्पतीका नाममा काठमाडौं, ललितपुर, भक्तपुर, दाङ, कैलाली, कन्चनपुर, कास्कीलगायतका ३२ स्थानमा घरजग्गा रहेको पाइएको छ ।
कतिपय स्थानमा बिष्टका नाममा त कतिपय स्थानमा उनकी पत्नीका नाममा सम्पत्ति पाइएको छ भने पती-पत्निको नाममा समेत कतिपय स्थानमा घरजग्गा रहेको अख्तियारले विषेश अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।
अख्तियारले बिष्टले सार्वजनिक पदको दुरूपयोग गरी भ्रष्टाचारजन्य काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरेर पत्नी रुबी जिसी बिष्टको नाममा राखेकाले उनलाई पनि प्रतिवादी बनाएर जफत गर्न माग गरेको छ ।
आरोपपत्रमा सरकारी पदमा रहेर अवैध सम्पत्ति कमाएको भन्दै बिष्ट र उनकी पत्नी रुबीलाई ६ करोड ८७ लाख ५७ हजार रूपैयाँ कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम सजाय माग गरिएको छ।
अख्तियारको दुरूपयोग गरी भ्रष्टाचारमा संलग्न रहेको भनी सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले दोषीमाथि छानबिन गरी कडा कानुनी कारबाही गर्न सिफारिस गरेको थियो । विष्ट २०५५ साल वैशाखमा वन सेवाको वन अधिकृत तृतीय श्रेणी प्राविधिक पदबाट सरकारी सेवामा प्रवेश गरेका थिए ।