ओली–पौडेलबिच भेटवार्ता, संसद् र न्यायालयको विषयमा छलफल

काठमाडौँ — सत्तारुढ दल कांग्रेसका नेता एवं उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । पौडेलले ओली निवास बालकोटमै पुगेर प्रतिनिधिसभा र न्यायालय दुवैतर्फको अवरोध हटाउने सन्दर्भमा छलफल गरेका हुन् ।

उनको सचिवालयका अनुसार पौडेल बुधबार साँझ ६ बजे बालकोट पुगेका थिए । भेटमा पौडेल र ओलीबीच करिब एक घण्टा छलफल भएको छ । ‘न्यायालय र संसद दुवै अवरुद्ध छन्, यसले आम नेपाली नागरिकमाझ राम्रो सन्देश गएको छैन, यही कारण राजनीतिक दल र नेताहरूप्रति नागरिकले हेर्ने दृष्टिकोण खराब भइरहेको छ,’ भेटमा पौडेलले ओलीलाई भनेको उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार बनेर प्रस्तुत हुनुपर्‍यो ।’ भेटमा पौडेलले संसद् र न्यायालय दुवै निरन्तर ठप्प हुँदा सिंगो मुलुक नै ठप्प बन्ने अवस्था रहेको बताएका थिए ।

जवाफमा ओलीले सभामुखले नै विकल्पको खोजी गर्नुपर्ने बताएका थिए । कांग्रेसको १४ औं महाधिवेशनमा भाग नलिएका पौडेल सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट रहेर अघि बढेका छन् । यस्तोमा पौडेलले ओलीसँग भेटेर छलफल गर्नुलाई महत्वपुर्ण रुपमा हेरिएको छ ।