राष्ट्रियसभा सदस्यका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने, उम्मेदवारहरुले ३ लाख ५० हजारसम्मा खर्च

रासस ।

काठमाडौं । राष्ट्रियसभा सदस्यका उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार सत्ता गठबन्धनका पाँचसहित नौ वटा दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराउनेमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चालगायत छन् ।

उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध बुधबार उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आज उम्मेदवारीविरुद्ध उजुरी परे पुस २२ र २३ गते उजुरीमाथि छानबिन हुने र २४ गते उम्मेदवारीले नाम फिर्ता लिने कार्यसूची रहेको छ । त्यस्तै पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्यका लागि १९ पदमा निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ । राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी फागुन २० गते बिदा हुँदै हुनुुहुन्छ । २० सांसदमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुने छन् भने १९ जनाका लागि निर्वाचन हुन लागेको हो ।

उम्मेदवारले तीन लाख ५० हजार खर्च गर्न पाउने

त्यस्तै निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारका लागि खर्चको सीमा तोकेको छ । आयोगले राष्ट्रिय सभा निर्वाचन नियमावली-२०७६ अनुसार सदस्यका लागि उम्मेदवारले विभिन्न शीर्षकमा ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ ।

विभिन्न १० शीर्षकमा गरी ३ लाख ५० हजार रुपैयाँ खर्चको सीमा तोकिएको हो । उम्मेदवारका लागि सवारी साधन/घोडा शीर्षकमा ७० हजार रुपैयाँ खर्च गर्न पाउने तोकिएको छ । त्यस्तै गोष्ठी/अन्तरक्रिया शीर्षकमा १ लाख र कार्यालय सञ्चालनमा ७० हजार रुपैयाँ खर्च तोकिएको छ ।

राष्ट्रिय सभामा रिक्त हुने १९ पदमा चुनिन ४३ जनाले उम्मेदवारी दिएका छन् । महिला ७, दलित ३, अपांगता भएका एवं अल्पसंख्यक दुई र अन्य समूहका सात सिटका लागि माघ १२ मा हुने चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो ।

२०७४ मा भएको राष्ट्रिय सभा निर्वाचनमा विजयी भएर ४ वर्षे कार्यकाल पूरा गर्न लागेकाहरूका स्थानमा चुनाव हुन लागेको हो । निर्वाचन आयोगले जुन प्रदेशको सदस्य रिक्त भएको हो, त्यहीं उम्मेदवारी दिने व्यवस्था गरेको थियो ।