दिल्लीमा आरजु र चौथाइवालेबीच भेटवार्ता, भिम रावलको प्रश्न

भारतमा रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग ईन्चार्ज विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजु र भाजपा विदेश विभाग प्रमुखबीच आज भेटवार्ता भएको हो ।

आरजुसँग भेटवार्ता भएकोबारे चौथाइवाले ट्वीटरमार्फत् सार्वजनिक गरेका छन्। उनीहरूबीच के विषयमा कुराकानी भएको हो भन्ने खुलाइएको छैन ।आरजु व्यक्तिगत भ्रमणका लागि केही दिनअगाडि भारत गएकी थिइन् । उनी बिरामी भेट्न भारत गएको बताइएको छ ।

जनवरी ११ देखि गुजरातमा हुने कार्यक्रमका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो भने आएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री देउवा जाने वा नजाने टुंगो लागिसकेको छैन ।

भिम रावल- देउवाले परराष्ट्र मामिला श्रीमतीलाई जिम्मा लगाएका हुन् ?

त्यस्तै निजी भ्रमणमा भारत गएकी भनिएकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले राजनीतिक भेटघाट तीव्र बनाएपछि अनेक प्रश्न उठेका छन् । यही पुस २५ मा देउवा भारत जानुअघि भएको आरजुको यो भ्रमणले नेपालको कुटनीतिक क्षेत्रमा विभिन्न प्रश्न उठाएको छ ।

साधरणतया प्रधानमन्त्री विदेश निस्कुन पहिले परराष्ट्र मन्त्री या परराष्ट्र मन्त्रालयका अधिकारीले तयारी भ्रमण जाने कूटनीतिक परम्परा छ । तर देउवाले निजी कामका लागि भन्दै दिल्ली पठाएपछि आरजुले त्यहाँस्थित भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसहितलाई भेटिसकेकी छन् । निजी भ्रमणमा गएकी प्रधानमन्त्री पत्नीको राजनीतिक भेटघाटलाई लिएर एमाले नेता भीम रावलले प्रश्न उठाएका छन् ।

उनले चौथाइवालेसँग आरजुको भेटलाई देशको परराष्ट्र मामिलामा हस्तक्षेप भनेका छन् । ‘श्रीमती आरजु राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो’, उनले भनेका छन्, ‘के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो ?’