पूर्व कप्तान ज्ञानेन्द्रले माँगे बिहानसम्मको समय, बिनोदसहित ४ खेलाडी जोडिए बन्द प्रशिक्षणमा

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेमामा रहेका १३ जना खेलाडीसँग छलफल गरेर सोमबार बिहान निर्णय दिने गरी नेपाल क्रिकेट संघ (क्यान) सँग समय माँग गरेका छन् । क्यानले सोमबार बिहान ९ बजे सम्मको समयसिमा तोकेर खेलाडीलाई राष्ट्रिय टोलिको बन्द प्रशिक्षणमा जोडिन अन्तिम समयसिमा तोकेपछि ज्ञानेन्द्रले सोमबार बिहान अन्तिम निर्णय दिने बताएको क्यान श्रोतले जानकारी दिएको हो ।

ज्ञानेन्द्रसहित १३ जना खेलाडीले क्यानले आजबाट शुरु गर्ने भनिएको बन्द प्रशिक्षणमा उपस्थिती नजनाएपछि बन्द प्रशिक्षण टरेको थियो । ज्ञानेन्द्रसहित प्रशिक्षणमा नजोडिएका खेलाडीले आज दिउँसोसम्म कप्तान परिवर्तन र कारवाहीमा परेका ४ खेलाडीको शुरुवाती ६ महिना केन्द्रिय सम्झौतामा नराख्ने निर्णय फिर्ता लिनुपर्ने माँग राखेका थिए । त्यसपछि आजै साँझ ज्ञानेन्द्रसहति क्यान अध्यक्ष चतुरबहादुर चन्द र प्रशिक्षक पुबुदु दसानायकेबिच वार्ता भएपछि ज्ञानेन्द्रले आफ्नो खेमामा रहेका १३ खेलाडीसँग सोमबार बिहानसम्म सल्लाह गर्ने समय माँगेका थिए ।

वार्तामा प्रशिक्षक दसानायके र अध्यक्ष चन्दले केन्द्यि सम्झौताको बारेमा बोर्डमा राखेर कारवाही कम गर्ने सक्ने भएपनि कप्तान परिवर्तनको सम्भावना शुन्य रहेको भन्दै ज्ञानेन्द्रलाई पठाएका थिए । यसैबिच ज्ञानेन्द्र खेमामा भनिएका १३ मध्ये चारजना क्रिकेटर बिनोद भण्डारी,सुशान भारी,विक्रम शोब र नन्दन यादव भने आइतबार राति नै बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी राखिएको होटलमा पुगिसकेको क्यान श्रोतले जानकारी गराएको छ ।

क्यानले ज्ञानेन्द्रसहति १३ जना खेलाडीलाई सोमबार बिहान ९ बजेसम्म होटलमा रिपोर्टिङ्ग नगरे उपरान्त बन्द प्रशिक्षणमा नराख्ने बेहोरासहित आइतबार साँझ नै इमेल मार्फत पत्राचार गरेपछि बिनोदसहित ४ जना खेलाडी अबेर राति क्यान समक्ष रिपोर्टिङ्गमा आएका हुन् । क्यानले आइतबारबाट आईसीसी पुरुष टि २० विश्वकपको ओमानमा हुने ग्लोबाल छनौट खेल्नका लागि राष्ट्रिय टोलि निर्माण गर्न सन्दिप लामिछानेको कप्तानीमा ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

क्यानले गत महिना खेलाडी वर्गिकरणको बखेडा झिकेर मिडियामा गलतथ प्रचारप्रसार गरेको भन्दै ज्ञानेन्द्रलाई कप्तानीबाट बर्खास्त गरेको थियो भने उपकप्तान दिपेन्द्रसिहं ऐरी,सोमपाल कामी र कमलसिंह ऐरीसहित चारै जनालाई शुरुवाती ६ महिना केन्द्रिय सम्झौतामा नराख्ने गरी कारवाही गरेको थियो । टि-२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल आगामी १५ देखि २५ सम्म आयोजना हुनेछ । समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान पक्का गर्नेछन् । छनोट हुन ४४ दिन बाँकी रहँदा नेपालमा भने खेलाडी विवाद जारी छ ।

बन्द प्रशिक्षणका लागि बोलाइएका ३० खेलाडीको सूचीः

सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आशिफ शेख, कमलसिंह ऐरी, साहब आलम, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, पवन सरार्फ, विक्रम सोब, भीम सार्की, रोहित कुमार पौडेल, प्रदीप ऐरी, गुलशन कुमार झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरि शंकर शाह ।