वाइडबडी जहाज मर्मतपछि र मौसमको सुधारपछि निगमले अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुरु
काठमाडौं । प्राविधिक समस्या भएपछि उडान गर्न नसकेको नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज मर्मतपछि नियमित उडान सुरु गरेको छ । निगमले विज्ञप्ति प्रकाशित गर्दे काठमाडौंबाट जापानको नारिता उडानको तयारीका क्रममा विमानमा आवश्यक चेकजाँच गर्दा वाइडबडी ३३० एन एएलवाइ विमानमा इलेक्ट्रिकल कन्टाक्टर मेनेजमेन्ट युनिटमा समस्या देखिएको जनाएको थियो ।
उक्त जहाज मर्मतका लागि श्रीलङ्काबाट आवश्यक पाटपुर्जा ल्याएर मर्मत गरेपछि काठमाडौं–दिल्ली नियमित उडान सुरू गरेकाे निगमका प्रवक्ता अर्चना खड्काले बताउनुभयो । प्राविधिक समस्यापछि मर्मतको क्रममा रहेको न्यारोबडी ए ३२० विमानले भने चाँडै उडान सुरु गर्नेछ । मङ्गलबार दोहामा अवतरण गरेर पार्किङ गर्ने क्रममा इन्जिनमा समस्या देखिएको न्यारोबडी ए ३२० विमान एन एकेडब्लू हाल मर्मतको क्रममा छ ।
मौसम सुधार भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुरु
त्यस्तै बाक्लो हुस्सु र कुहिरोका कारण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पुनः सुचारु भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डन कार्यालयले बिहान ११ बजेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पुनः सुचारु भएको जानकारी गरायाे ।
शुक्रबार बिहानैदेखि विमानस्थलको भिजिबिलिटी सय मिटरमा झरेपछि उडान रोकिएको थियो । अहिले विमानस्थलको भिजिबिलिटी एक हजार एक सय मिटर पुगेको छ ।
बिहान घाम लागेसँगै ११ बजेदेशि पुनः उडान सुरु भएको नागरिक उड्डन कार्यालयले जनाएकाे छ।
अन्तर्राष्ट्रिय उडानका छ वटा विमान अवतरण भएका छन् भने आन्तरिकतर्फ पोखरा, विराटनगर र भद्रपुरको उडानका लागि बोर्डिङ पास भएका छन् ।