वर्षा र हिमपातले देशभरको जनजीवन कष्टप्रद, सडक तथा हावाइ उडान अबरुध्द

काठमाडौँ — देशका उच्च पहाडी र हिमाली भेगमा मंगलबार रातिदेखि हिमपात भएको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै देशका उच्च हिमाली र हिमाली भेगमा हिउँ परेको हो । काठमाडौं उपत्यका आसपासका चन्द्रागिरिलगायतका डाँडामा पनि हिउँ परेको हो । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीय तथा यात्रुहरु मर्कामा परेका हुन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षा तथा हिमपातका कारण हवाइ उडान प्रभावित भएको छ। पहाडी तथा हिमाली क्षेत्रका विमानस्थलमा हिउँ पर्दा हवाइ उडान प्रभावित भएका हुन् । यति एयरलाइन्सले बुधबारको लागि लुक्लाका सबै उडान रद्द गरेको छ। मौसम खराबीकै कारण डोल्पा र सिमीकोट उडान रद्द भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । बर्तौलाका अनुसार तराईको विमानस्थलमा उडान सुरु भएको छ भने पहाडी भेगमा भिजिबिलिटी कम र हिउँ पर्दा उडान हुनसकेका छैनन् । बुधबार पोखरामा ६ उडान तालिका रहेकोमा ३ उडान रद्द भइसकेका छन् ।

बुद्ध एयरले पनि आफ्ना उडान प्रभावित भएको उल्लेख गरेको छ। उडानको जानकारीको लागि बुद्ध एयरको मोबाइल एपमार्फत हेर्न सकिने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशका धेरैजसो स्थानमा वर्षात् भइरहेको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ ।

त्यस्तै वर्षा र हिमपातका कारण ठाउँ-ठाउँमा यातायात बन्द भएको छ भने चिसो बढ्नाले खासगरी हिमाली जिल्लाको जनजीवन निकै कष्टकटर बनेको छ । यसैबीच आज दिउँसो तथा राति पनि वर्षा र हिमपात जारी रहने सम्भावना रहेकाले होसियारी अपनाउन मौसमविद्ले आम नगारिकलाई आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ । जसमा भनिएको छ : देशभर सामान्यदेखि पूणर्तया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

मनाङमा निरन्तर ७२ घण्टा हिमपात

मनाङ जिल्लाका सबै गाउँपालिकामा ७२ घण्टादेखि भारी हिमपात भइरहेको छ । आवगमन ठप्प भएको छ भने तापक्रम माइनस २० पुगेपछि जनजीवनमा झनझन् कष्टकर हुँदै गएको छ ।

म्याग्दीको तल्लो घोडेपानीमा परेको हिउँ

म्याग्दीको अन्नपूणर् गाउँपालिका-६ स्थित पर्यटकीयस्थल तल्लो घोडेपानीमा बुधबार बिहान भएको हिमपात । हिमपात र चिसोले म्याग्दीको लेकाली बस्तीको जनजीवन कष्टकर बनेको छ ।