माओवादीको महाधिवेशनमा ओली बाहेकका शीर्ष नेताहरु सहभागी हुने
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को ८औं अधिवेशनमा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेक अन्य दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि माओवादीले अतिथीहरु बोलाउने निर्णय गरेको थियो ।
महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् । ओलीलाई अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरेर महाधिवेशनमा निम्ता दिएका थिए । तर ओली झापामा छन् । उनले पार्टीका अन्य नेतालाई पठाउने जानकारी दिएका थिए । एमालेकाे तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने संभावना छ ।
प्रधानमन्त्री पनि सहभागी हुने भएपछि महाधिवेशनको सुरक्षा योजना परिवर्तन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४ प्रहरी सम्मेलनको सुरक्षामा परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएकामा त्यसलाई परिवर्तन गरी झण्डै ४५० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ ।
माओवादीको अधिवेशनमा एसपीको नेतृत्वमा झन्डै ४५० प्रहरी परिचालन
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौंको सुरक्षा रणनीति परिवर्तन गरिएको छ ।यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४ प्रहरी सम्मेलनको सुरक्षामा परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएकामा त्यसलाई परिवर्तन गरी झण्डै ४५० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।
आज अपराह्न हुने महाधिवेशन उद्घाटनलाई बढी केन्द्रित गरिएको छ । सुरक्षाकर्मी बिहानैदेखि महाधिवेशनस्थल र उपत्यकाका विभिन्न क्षेत्रमा परिचालन भइसकेको छ । “थप मद्दतसहित रिजर्व फोर्ससमेत तयारी अवस्थामा छ, महाधिवेशनको रूपमा गर्ने भनिसकेपछि हिजोको योजनाभन्दा थप सुरक्षा मजबुत बनाएका छौँ,” परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले भने ।
भीडभाड कम हुने गरी ट्राफिक व्यवस्थापनसमेत मिलाइएको छ । अन्य सुरक्षा निकाय तथा आयोजकसँग समन्वय गरेर चुस्त सुरक्षा व्यवस्था मिलाइएको एसएसपी गिरीले बताए । राष्ट्रिय सम्मेलनमा अतिथि नआउने आफ्नै पार्टीका नेताहरु मात्रै सहभागी हुने भन्ने थियो, तर महाधिवेशनमा परिणत भएपछि अतितिहरूलाई समेत बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित राष्ट्रिय पार्टीका मुख्य नेताहरु आउने भएकाले सुरक्षाको मोडालिटी परिवर्तन गरिएको महाधिवेशनको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।
माओवादीको राष्ट्रिय सम्मेलन बिहान ११ बजेबाट सुरु हुने भनिएको थियो । तर महाधिवेशनको रूपमा हुने भएपछि कार्यक्रम समय परिवर्तन गरी ३ बजे पुर्याइएको छ । उद्घाटनमा अन्य कार्यकर्तासमेत आउने भएकाले पनि केही भिडभाड बढ्ने भएकाले सोहीअनुसारको सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महाधिवेशनमा झण्डै चार हजारदेखि पाँच हजार मानिस उपस्थित हुने अनुमान छ । प्रतिनिधि एक हजार ५३३ र अन्य स्वःस्फूर्त आउने कार्यकर्तालाई पनि रोकावट नभएकाले उनीहरु पनि सहभागी हुन पाउनेछन् । यद्यपि प्रज्ञा भवनको क्षमता एक हजार ३६० बस्न सक्ने हो । अन्यका लागि चौरमा बसेर र भवन कै अन्य खुला भागमा बसेर हेर्न मिल्ने गरी व्यवस्था गरिएको छ । त्यहाँ स्क्रिन र स्पिकर राखिएकाले बाहिर पनि मानिस बस्न सक्ने व्यवस्था मिलाइएको छ ।
महाधिवेशनको सुरक्षाका लागि अहिले बिहानदेखि नै तीन टोली परिचालन भइसकेको र बाँकी टोली केहीबेरमा थप गरिने प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भीडभाडको अवस्था हेरेर सोहीअनुसारको ट्राफिक व्यवस्थापन मिलाउने गरी ट्राफिक सुरक्षा योजना मिलाइएको छ । विशेषगरी सम्मेलनस्थल वरपरका सवारी रुटमा विशेष व्यवस्थापन गरिएको छ ।