क्रिसमसमा विश्वभर ४ हजारभन्दा धेरै उडानहरु रद्द
एजेन्सी । अप्रत्यासित रुपमा कोभिड ओमिक्रोन भेरियन्टको प्रकोप बढेसँगै क्रिसमस फेस्टिभ सिजनमा (चाडपर्बको बेला) विश्वभरका एयरलाइन्स कम्पनीहरुले यस समय झन्डै ४ हजारभन्दा धेरै उडान रद्द गरेका छन् वा गर्नुपरेका छन ।
पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण बढेसँगै एयरलाइन्स कम्पनीहरुले धेरै चहलपहल हुने क्रिसमसको अगाडि र पछिको लागि तय भएका उडान रद्द गरेका हुन् । फ्लाइटएवेयर वेबसाइटको तथ्यांकअनुसार क्रिसमसको पूर्वसन्ध्यामा विश्वभर २ हजार ३१४ उडान रद्द भएका थिए ।
यो समय क्रिसमस मनाउन सबैभन्दा धेरै मानिस भ्रमणको लागि जाने समय हो । सबैभन्दा धेरै उडान अमेरिकामा रद्द भएका छन् । त्यस्तै शनिबार क्रिसमसको अवसरमा विश्वभरका १ हजार ४०४ उडान रद्द भएका छन् । त्यस्तै आइतबारका ३४० उडान पनि रद्द भएका छन् ।
निकै संक्रामक मानिएको ओमिक्रोन भेरियन्टसहितको संक्रमण विश्वभर नै फैलिरहेको छ । केही युरोपेली मुलुकमा यो संक्रमणको कारण अहिलेसम्मकै सबैभन्दा धेरै दैनिक नयाँ संक्रमित भेटिन थालेका छन् ।