सभापतिसहित नेपाली कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यहरुले प्रमाणपत्र ग्रहण

काठमाण्डौ – नेपाली कांग्रेसको १४औँ महाधिवेशबाट निर्वाचित सभापतिसहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी र सदस्यलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित समारोहमा पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महाधिवेशनबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।

पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरिएसँगै नेपाली कांग्रेसको १४औँ महाधिवेशन औपचारिकरुपमा समापन भएको छ । मुलुकको प्राकृतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा नेतृत्वदायी भूमिका खेल्दै आएको नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हो । प्रमाणपत्र वितरणको कार्यक्रम सम्पन्न भएलगत्तै पार्टीकोे नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

म सबैको सभापति हुँ, निष्पक्ष रूपमा काम गर्छु : सभापति देउवा

‘स्थानीयदेखि राष्ट्रिय चुनावसम्म हाम्रो अगाडि छन्, ती चुनावमा हामीले जित्नुपर्नेछ । कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेछ ।’
पुस १०, २०७८कान्तिपुर संवाददाता

त्यस्तै पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा सबै नेता कार्यकर्तालाई समेटेर अघि बढाउने बताएका छन् । केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय निर्वाचन समितिबाट नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै सभापति देउवाले आफू सबैको साझा सभापति भएको, र पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने बताए ।

‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु , सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्छु, म सबैको सभापति हुँ, आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु,’ देउवाले भनेका छन् । उनले पार्टीले थुप्रै अवरोध र व्यवधानहरूबीच महाधिवेशन गरेर आफूलाई लोकतान्त्रिक अभ्यासमा अग्रपंक्तिमा स्थापित गरेको भन्दै अब आमनिर्वाचनमा केन्द्रित हुनुपर्ने बताए ।

‘हाम्रो पार्टीले वडादेखि केन्द्रसम्म नै स्वतन्त्र रूपमा लोकतान्त्रिक अभ्यास गरेको छ, यस अर्थमा हाम्रो पार्टी मात्रै साँच्चिकै लोकतान्त्रिक पार्टी हो भन्ने पुष्टि भएको छ,’ उनले भने, ‘तर अहिले हाम्रो अगाडि अर्को ठूलो चुनौती पनि छ, स्थानीयदेखि राष्ट्रिय चुनावसम्म हाम्रो अगाडि छन्, ती चुनावमा हामीले जित्नुपर्नेछ । कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्नेछ ।’

उनले कांग्रेसले आफ्नो महाधिवेशनको प्रक्रियामा पार्टीमा ३३ प्रतिशत महिलाको सहभागितालाई सुनिश्चित गरेको बताए । ‘हामीले तल्लो तहदेखि नै महिलाहरूलाई ठाउँ दिएर जनसंख्याको आधा आकाशलाई पार्टीभित्र समेटेका छौँ, अब महिला मतदाताहरूलाई पनि समेटेर, महिलालाई अघि बढाएर नेतृत्वमा महिलाहरूलाई स्थापित गर्नुपर्नेछ,’ उनले भने ।